Tune to BFM 91.2|Biratnagar

मोबाइल चोरी नियन्त्रण गर्न मोरङ प्रहरीको छुट्टै टोली

विराटनगर, ९ साउन । मोरङ प्रहरीले मोबाइल चोरी एवं लुटपाटका घटना नियन्त्रण गर्न छुट्टै विशेष टोली परिचालन गरेर काम थालेको छ ।

पछिल्लो समय बढ्दै गएको मोबाइलसँग सम्बन्धित घटना रोक्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको निर्देशनमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मिलन थापाको नेत्रृत्वमा टोली बनाएर परिचालन गरिएको हो ।

टोलीलाई चोरी एवं लुटपाट नियन्त्रण गर्ने, हराएका मोबाइल फेला पार्ने र घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने मात्रै जिम्मेवारी दिइएको खड्काले बताउनु भयो । मोरङमा आर्थिक वर्ष २०७६÷०७७ मा एक हजार तीन सय ५९ वटा मोबाइल हराएका उजुरी परेका छन् । हराएका मध्ये ८३ वटा मात्रै फेला परेका थिए ।

विगतमा मोबाइल धेरै चोरी भए पनि थोरै मात्रै फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाउन सकेको छ । चोरी धेरै भए पनि न्यून संख्यामा फेला पर्ने गरेको पाइएकाले मोबाइल चोरीको घटनालाई केन्द्रीत गरेर ‘स्पेशल टाक्स फोर्स’ बनाउनु परेको एसपी खड्काले बताउनु भयो ।

असार ९ बाट साउन ८ गतेसम्म एक महिनाको अवधिमा मात्रै विराटनगरबाट ७३ वटा मोबाइल चोरी भएको उजुरी मोरङ प्रहरीमा परेको छ । टोलीले हराएका मध्ये २८ वटा मोबाइल एक साताको अवधिमा फेला पार्यो ।

फेला परेका मोबाइल आज एसपी खड्का, डीएसपी लोकदर्शन थापासमेतले सम्बन्धित धनीलाई बुझाउनु भयो । खड्काले मोबाइल लुटपाट एवं चोरीमा संलग्न सुरज उरावसहित नौ जनालाई पक्राउ गरेर डाँका र चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button