मोरंगको ग्रामथान २ बाल विवाहमुक्त
विराटनगर, ८ वैशाख । मोरंगको ग्रामथान वडा नंं. २ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमकावीच प्रदेश सांसद विजय विश्वासले बाल विवाहमुक्त वडा घोषणा गर्नुभयो । पछिल्लो डेढ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गरिएको बाल विवाह नियन्त्रण अभियान प्रभावकारी बन्दै गएपछि बाल विवाहमुक्त वडा घोषणा गर्न सफल भएको वडाध्यक्ष कृष्ण माझीले जानकारी दिनुभयो । उहाँका अनुसार डेढ बर्षको अवधिमा १७ वटा बाल विवाह रोक्न सफल भएको बताउनुभयो । वडा कार्यालयमा बाल श्रम, बाल विवाह तथा बाल यौन दुब्र्यवहार लगायतका ५१ वटा बाल संरक्षणका घटनाहरु दर्ता भएको वडाध्यक्ष माझीले बताउनुभयो । बाल विवाहमुक्त वडा घोषणाका लागि वल्र्ड भिजन इन्टरनेशनलको सहयोग र वडा कार्यालयसँगको समन्वयमा नारी विकास संघले अभियान सञ्चालन गरिरहेको छ । २०१८ जनवरी देखि २०१९ मार्च सम्ममा बाल विवाह नियन्त्रणका लागि वडा बाल संरक्षण समितिलाई तालिम तथा अभिमुखीकरण, बाल संरक्षण संवन्धिमुद्धाहरु दर्ता गरि न्याय दिलाउन पहल तथा रेफर, धामी झाँक्री तथा धार्मिक अगुवाहरुलाई तालिम, रुपान्तरण तथा स्काई क्लवको माध्यमबाट अभियान सञ्चालन, विद्यालय शिक्षक र बाल क्लवहरुका लागि तालिम सञ्चालन लगायतको काम गरिएको वडाध्यक्ष माझीले बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद विजय विश्वास, जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, ग्रामथान गाउँपालिका प्रमुख शिवनारायण माझी लगायतले बाल विवाह नियन्त्रण गर्नु सवैको दायित्व भएको बताउनुभयो । यसअघि गत बुधबार ग्रामथान वडा नंं. १ लाई बाल विवाहमुक्त वडा घोषणा गरिएको थियो ।