Tune to BFM 91.2|Biratnagar

मोरंगमा तीनवटा बीओपीको उद्घाटन

विराटनगर, ९ चैत । मोरङमा सशस्त्र प्रहरीका तीनवटा बीपओपी (बोर्डर आउट पोस्ट) को आज उद्घाटन गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रंगेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मीर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बीओपीको उद्घाटन गरिएको हो ।

सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेपछि औपचारिक रुपमा तीनवटै बीओपी सञ्चालनमा आएका छन् । सबै युनिटमा प्रहरी नायव निरीक्षक (सइ)को नेतृत्वमा टोली राखिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउन स्थापना गरिएका बीपओपीमा क्रमस जनशक्ति व्यवस्थापन र थप गर्दै जाने योजना छ ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउने उदेश्यले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने सरकारको नीति अनुरुप बीओपी स्थापना गरिएको डीआईजी दाहालले बताउनुभयो । राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको मुख्य प्राथमिकतामा रहेको उनले बताउनुभयो ।

लागुऔषधको ओसारपसार, जडिबुटी तथा वन पैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । प्रजिअ निरौलाले सीमा क्षेत्रमा सुरक्षाकर्मी र नागरिक एकाकार भएर सबै खाले अवैध गतिविधी एवं अपराध नियन्त्रणमा लिनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख दासले भारतीयका कारण सीमाका बासिन्दा वर्षौदेखि पीडित भइरहेको अवस्थामा बीओपी स्थापनाले ठूलो राहत मिलेको बताउनुभयो । नेपाल सरकारले भारत तथा चीनसँग सीमा जोडिएका स्थानमा चालु आर्थिक वर्षभित्र एक सय १४ वटा थप गर्दै मुलुकभर बीओपीको संख्या दुई सय २१ वटा पुर्याउने लक्ष्य लिएको छ । डीआईजी दाहालका अनुसार प्रदेश १ मा चालु आर्थिक वर्षको हालसम्म नयाँ २२ वटा बीओपी स्थापना भएर सञ्चालनमा आइसकेका छन् । प्रदेश १ मा बीओपी संख्या ५१ पुगेको छ । भारततर्फ ४९ र चीनतर्फ दुईवटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button