मोरंगमा लकडाउन प्रभावकारी बनाईने : एसपी अधिकारी
विराटनगर, २९ चैत । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी आह्वान गरिएको लकडाउन मोरंगमा प्रभावकारी नभएको गुनासो आएपछि प्रहरीले कडाई गरेको छ । लकडाउन उल्लंघन गर्नेलाई कारवाही शुरु गरेको छ ।
पटकपटक गरिएको अनुरोधलाई अटेर गरेपछि कारवाही थालिएको मोरंग प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो । प्रहरीको आँखा छलेर सडकमा ननिस्कन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनलाई पुर्णरूपमा पालन गरेर घरमै बसिदिन आग्रह गर्छु ।’
वीएफएमको साप्ताहिक कार्यक्रम साझा सरोकारमा आज विहान कुराकानी गर्दै एसपी अधिकारीले सो कुरा बताउनुभएको हो ।
विना कारण सडकमा हिड्नेलाई प्रहरीले कारवाही शुरु गरिसकेको उहाँले बताउनुभयो । लकडाउनका समयमा प्रहरीले नियन्त्रणमा लिएको सवारी पनि लकडाउन खुलेपछि मात्रै दिईने पनि एसपी अधिकारीले बताउनुभयो ।
प्रहरी एक्लैले लकडाउन सफल बनाउन नसक्ने हुँदा सबैले यसमा साथ दिनुपर्ने उहाँले बताउनुभयो । लकडाउन पूर्णरुपमा पालन गरिएमा कोरोना भाइरसबाट बच्न सकिने एसपी अधिकारीले बताउनुभयो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितहरु बढिरहेको भन्दै सचेत हुन सवैलाई उहाँले आग्रह गर्नुभयो ।