Tune to BFM 91.2|Biratnagar

मोरंग र सुनसरीका ३ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर , १५ असोज। मोरंग र सुनसरीका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यसैबिच गए राति सुनसरी इटहरीका दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ ।इटहरीमा होटल व्यवसाय गर्ने इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र लागूऔषध मुद्दामा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको हो । होटेल ब्यवसायी ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको १५ मिनेटमै गए राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

उहाका अनुसार अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराट मेडिकल कलेजले रेफर गरेका मृतकलाई राति ९ः३० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु ९ः४५ बजेतिर मृत्यु भएको थियो ।

मृतकमा स्वास्थ्यसम्बन्धी पुरानो समस्या केही थिएन । उनलाई हिजो नै कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै गए राति नै लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको छ । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि युवकलाई कोशी अस्पताल ल्याइएको थियो ।

अस्पतालमा राति करिब साढे ८ बजे मृत्यु भएको बताईएको छ ।मृत्यु पछि कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button