Tune to BFM 91.2|Biratnagar

मोरङका कोरोना संक्रमित एक पुरुषको मृत्यु

विराटनगर, १५ साउन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट हिजो मोरङका एक पुरुषको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय, मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङ, सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । १२ दिनअघि भारतबाट फर्किएर स्थानीय क्वारेन्टाईनमा रहेका उनी छातिमा समस्या देखिएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्न गएका थिए । उनलाई सामान्य उपचारपछि त्यहाँबाट कोशी अस्पताल रेफर गरिएको थियो ।

कोशी अस्पताल भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको र त्यसक्रममा स्वाब संकलन गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई हिजो विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । नेपालमा हिजो कोरोना भाइरस (कोभिड—१९) का २ सय १० जना थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । प्रदेश १ मा हिजो ९ जना कोरोना संक्रमण पुष्टी भएको थियो । मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगर ४, ६ र १६ नंवर वडाका ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा संक्रमण देखिएका ९ सय ७५ मध्ये १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button