Tune to BFM 91.2|Biratnagar

मोरङका प्रमुख जिल्ला अधिकारी भुजेलको सरुवा

विराटनगर, ९ साउन । मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मदन भुजेलको सरुवा भएको छ । मोरङको प्रजिअ बनेर आएको एक वर्ष पनि पूरा नहुँदै सामान्य प्रशासन मन्त्रालयले उहाँको सरुवा गरेको हो ।

भुजेल २०७६ भदौ १९ गते सिडिओ बनेर मोरङ आउनु भएको थियो । वर्खाको समयमा बाढी, पहिरो, डुबान आदिको समस्या र विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बेला प्रजिअकै सरुवा गरिएको हो ।

सरकारले गरेको गृहमन्त्रालय प्रवक्ता केदारनाथ शर्मासहित २६ जना सह–सचिवको सरुवा सूचीमा भुजेलको पनि नाम परेको छ । उहाँलाई आर्थिक मामिला तथा योजना मन्त्रालय बाग्मती प्रदेश हेटौँडा सरुवा गरिएको छ ।

संघीय सरकार मातहतमा रहेका कर्मचारीलाई प्रदेशमा सरुवा गर्ने क्रममा गृह मन्त्रालय अन्तर्गत कार्यरत रहेका भुजेललाई बरिष्ठताका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको स्रोतले बतायो ।

भुजेलको सरुवा भए पनि मोरङमा नयाँ प्रमुख जिल्ला अधिकारी भने पठाइएको छैन । हालसम्म कसलाई मोरङको प्रजिअ बनाएर पठाउने भन्ने कुरा यकिन भइनसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button