Tune to BFM 91.2|Biratnagar

मोरङका भिन्दाभिन्दै स्थानमा दुर्घटना, दुई जनाको मृत्यु, पाँच जना घाइते

विराटनगर, ९ मंसिर । मोरङका भिन्दाभिन्दै स्थानमा भएको सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको छ । बेलबारी, पथरीशनिश्चरे र उर्लाबारीमा हिजोसाँझ मानवीय क्षति हुने गरी दुर्घटना भएको प्रहरीले जनाएको छ । बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल साँझ ५ः३० बजेतिर ठोक्किएर दुर्घटना हुँदा बेलबारी–७ का ३७ वर्षीय नवीन पौडेलको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १ –०२–०४२ प ४२१६ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको को ३९ प ३८०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मृतक पौडेल को ३९ प ३८०१ नम्बरको मोटरसाइकलका चालक हुुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा साँझ ७ः१० बजेतिर विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको जानकारी ढकालले दिनुभयो । दुर्घटनामा परेर पौडेलले चलाएको मोटरसाइकलको पछाडि बसेका २६ वर्षीय मनोज विष्ट घाइते भएका छन् । हात र खुट्टामा चोट लागेका उनको बेलबारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ का २० वर्षीय प्रमोद राई र पछाडि सवार २१ वर्षीय विपिन श्रेष्ठ गम्भीर घाइते भएका छन् । हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको ढकालले बताउनुभयो । त्यस्तै पथरीशनिश्चरे नगरपालिका–२ जय चोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ८ प ६३७७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६८३१ नम्बरको बसले साँझ ६ः४० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका–९ का ३२ वर्षीय मुकेशप्रसाद पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताउनु भयो । दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि पथरी अस्पताल पुर्याइएकोमा साँझ ७ः१० बजेतिर पौडेलको ज्यान गएको उहाँले बताउनु भयो । बस र चालक मोरङको लेटाङ नगरपालिका– ३ का ३९ वर्षीय सञ्जय साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी गिरीले दिनुभयो । यसैबीच मोरङको उर्लाबारी नगरपालिका–८ स्थित भित्री सडक खण्डमा अर्को दुर्घटना भएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको अटो टेम्पोले दक्षिणतर्फ जाँदै गरेको को १२ प १२५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गय राति ८ः१० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ का ३५ वर्षीय भोजकुमार खड्का र पछाडि सवार ३४ वर्षीय प्रकाश माझी घाइते भएका छन् ।

घाइतेमध्ये खड्काको अवस्था गम्भीर छ । दुवै घाइतेको गोदावरी अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार भएको अटोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button