Tune to BFM 91.2|Biratnagar

मोरङका विभिन्न अस्पतालमा १२ सङ्क्रमितको मृत्यु

विराटनगर, २ जेठ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमित १२ जनाको मृत्यु भएको छ । उपचारका क्रममा चार महिला र आठ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँच जना वृद्धवृद्धा र चार जना ३५ वर्ष मुनिका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा हिजो दिउँसो ३ बजेदेखि आज बिहानका राति १ बजेसम्ममा सात जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । नोबेलमा छोटो समयमै यति धेरै सङ्क्रमितको मृत्यु भएको यो नै पहिलो हो । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजेतिर मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २३ गते भर्ना गरिएको थियो । विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि हिजो दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो । उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत्यु भएको जानकारी दाहालले दिनु भयो । विराटनगर–४ का ५२ वर्षीय पुरुषको राति १०ः२५ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालले बताउनु भयो । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया वृद्धा महिलाको हिजो दिउँसो ४ः१५ बजेतिर मृत्यु भएको छ । सिरहाका ६९ वर्षीय पुरुषको दिउँसो ४ः३० बजेतिर मृत्यु भएको छ ।

नोबेल अस्पतालका प्रबन्धक दाहालका अनुसार सिरहाकै अर्का पुरुषको पनि नोबेलमा मृत्यु भएको छ ।सङ्क्रमित वृद्धको मृत्यु हिजो दिउँसो ३ः१५ बजेतिर भएको हो । विराटनगरकै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत तीन जना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार मृत्यु हुनेमा एक वृद्धसहित दुई पुरुष र एक महिला छन् । मोरङको सुनवर्षी नगरपालिका–३ का ५३ वर्षीय पुरुषको गय राति मृत्यु भएको छ । विराटनगर–१ की ३४ वर्षीया महिलाको पनि राति नै मृत्यु भएको छ । विराटनगर–१४ का ६८ वर्षीय वृद्ध पुरुषको उपचारका लागि भर्ना गरिएको केही समयमै राति कोसीमा मृत्यु भएको छ ।

मोरङको बूढीगङ्गा स्थित विराट शिक्षण अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्ष मुनिका महिला र पुरुष रहेको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले बताउनु भयो । इलामको इलाम नगरपालिका–८ का ३४ वर्षीय पुरुषको बिहान ४ बजेतिर मृत्यु भएको छ ।सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको विराटमै राति १०ः२० बजेतिर मृत्यु भएको कोभिड अस्पताल इन्चार्ज देवले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button