Tune to BFM 91.2|Biratnagar

मोरङका विभिन्न स्थानबाट तस्करीका सामान बरामद

विराटनगर, १२ साउन । प्रहरी सक्रियतासँगै मोरङका विभिन्न स्थानबाट आज ठूलो परिणाममा तस्करीका सामान बरामद भएका छन् । भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सामान बरामद भएका हुन् ।

जहदा गाउँपालिका–१ भुटाहाबाट प्रहरी ४३ बोरा रसायनिक मल, ५० किलो चिनी, तीन बण्डल सलाई, खाने तेल लगायत ४८ हजार दुई सय मूल्य बराबरका सामान बरामद भएको छ । जहदा–१ का राजकिशोर साह र ननकुमार शर्माले अवैध रुपमा भन्सार छली गरेर ल्याएको अवस्थामा सामान बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले बताउनु भयो ।

अवैध सामानसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको थापाको भनाइ छ । त्यस्तै विराटनगर महानगरपालिका–६ बरमपुराबाट दुई बोरा खैनी प्रहरीले बरामद गरेको छ ।

उक्त खैनी सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का अमरेश मेहताले अवैध रुपमा नेपाल ल्याएको प्रहरीले जनाएको छ । उता जहदा–३ लक्ष्मीनिया नजिकै सडक किनारबाट प्रहरीले २० बोरा खैनी बरामद गरेको छ ।

खैनी तस्करी गर्नेहरु प्रहरीलाई देखेपछि फरार बनेका थिए । त्यस्तै विराटनगर महानगरपालिका–१४ जतुवा नहरबाट ११ बोरा रसायनिक मल प्रहरीले बरामद गरेको छ । मल तस्करी गर्नेहरुको पनि पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले तस्करी नियन्त्रणका लागि प्रहरीले भिन्दै टोली बनाएर परिचालन गरेपछि तस्करीका सामान धमाधम बरामद हुन थालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button