Tune to BFM 91.2|Biratnagar

मोरङका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइन खाली हुन थाले

विराटनगर, २९ वैशाख । कोरोना भाइरसका शंकास्पदलाई राख्नका लागि मोरङका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइन खाली हुन थालेका छन् । विभिन्न ठाउँमा गरेर मोरङमा दुई सय ७५ जना क्षमताको क्वारेन्टाइन सञ्चालन गरिएको थियो ।

मोरङमा क्वारेन्टाइनमा बस्नेको संख्या दुई सय २५ सम्म पुग्यो । जसमा एक सय ९८ पुरुष र २७ जना महिला थिए । आजसम्म दुई महिलासहित १२ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।

टाँडीमा नेपाली सेनाको दुई सय, विराटनगरको घिनाघाट प्राथमिक स्वास्थ्य केन्द्रमा १३, जहदाको दुर्गा माध्यमिक विद्यालयमा १०, केराबारीको प्राथमिक स्वास्थ्य केन्द्रमा आठ, धनपालथानको स्वास्थ्य चौकी कर्सियामा १०, प्राथमिक स्वास्थ्य केन्द्र अमरदह सुनवर्षीमा १०, रंगेली अस्पतालमा पाँच, बूढीगंगाको मधुग्राम विद्यालयमा ११ र केराबारीको कालीशक्ति गणमा आठ जना क्षमताको क्वारेन्टाइन बनाइएको थियो ।

यस अघि टाँडीमा एक सय ५६, घिनाघाटमा ३१, जहदामा दुई, केराबारीमा चार, धनपालथानमा चार, सुनवर्षीमा आठ, रंगेलीमा आठ, बूढीगंगामा ११ र कालीशक्ति गणमा एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो । राखिएका मध्ये एक सय ८८ पुरुष र २५ महिला गरेर दुई सय १३ जना क्वारेन्टाइनबाट विदा भइसकेका छन् ।

घिनाघाटमा नौ पुरुष र दुई महिला गरेर ११ र कालीशक्ति गणमा एक पुरुष मात्रै क्वारेन्टाइनमा रहेका छन् । अरु क्वारेन्टाइन पूरै खाली भइसकेका छन् । मोरङमा बाहिरी मुलुकबाट आएका तर क्वारेन्टाइनमा बस्न नमानेका ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो । बाहिरबाट आएका मध्ये ९५ प्रतिशत भारतबाट नेपाल आएकाहरु रहेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।

बाहिरबाट आएका ८९ जनालाई क्वारेन्टाइनमा पठाउँदै चार सय १२ जनालाई ‘ट्रयाकिङ’ गरिएको जानकारी उहाँले दिनु भयो । एसपी अधिकारीकाअनुसार ‘ट्रयाकिङ’ गरिएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न लगाएर निरन्तर निगरानीमा राख्दै परीक्षण गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको पाइएको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले विदेशबाट आउने क्रम रोकिएसँगै क्वारेन्टाइन जानेको संख्या शून्य भएर बस्नेहरु पनि विदा हुँदै घर जान थालेपछि प्राय क्वारेन्टाइन खाली हुन थालेको जानकारी दिनु भयो । उहाँकाअनुसार कोरोना नेपालमा बाहिरी मुलुकबाटै भित्रिएको हुनाले बाहिरबाट आएकाहरुलाई केन्द्रीत गर्दै क्वारेन्टाइन बनाएर उनीहरुलाई राख्न थालिएको थियो ।

‘दुई साता राखिएपछि पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आयो,’ प्रदेश १ को कोभिड–१९ अस्पतालका व्यवस्थापक समेत रहेका बस्नेतले भन्नु भयो , ‘क्वारेन्टाइन बसाईको दुई साता अवधि पूरा हुनसाथ रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनबाट विदा दिने गरिएको छ ।’

उहाँकाअनुसार परीक्षण गर्दा हालसम्म मोरङमा क्वारेन्टाइनमा बसेका कोहीलाई पनि कोरोना संक्रमण देखिएन । मोरङमा एक हजार दुई सय ६४ जना पुरुष र दुई सय ५६ महिला गरेर एक हजार पाँच सय २० जना होम क्वारेन्टाइनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button