Tune to BFM 91.2|Biratnagar

मोरङकोे कानेपोखरीमा बलात्कारपछि किशोरी बेहोसअवस्थामा भेटिईन

विराटनगर, २६ माघ । मोरङको कानेपोखरीमा बलात्कारको सिकार बनेकी एक किशोरी बेहोस अवस्थामा भेटिएकी छन् । किशोरीमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरिएको सार्वजनिक भए पनि यस घटनालाई लिएर प्रहरीले गरिरहेको अनुसन्धान शंकास्पद बनेर गएको छ ।

प्रहरीले यस घटनालाई लिएर थालेको प्रारम्भिक अनुसन्धान नै विवादमा तानिएको छ । घटना गत बिहीबार रातिको हो । पीडितका आफन्तले पनि प्रहरीले न्याय दिने हिसाबले अनुसन्धान अघि नबढाएको गुनासो गरेका छन् । घटना अनुसन्धानमा आलटाल गरिरहेको प्रहरी पीडकलाई संरक्षण दिने हिसाबमा अघि बढेको आरोप उनीहरुको छ । न्याय दिनेभन्दा पनि विभिन्न हिसाबले धम्क्याएर पीडितलाई थप हतोत्साही बनाउने र घटनालाई अन्यत्र मोड्ने काम प्रहरीबाट भएको गुनासो परिवारका सदस्यको छ ।

नसालु पदार्थ खुवाएर कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि संरक्षण गर्दै पीडकलाई उन्मुक्ती दिने हिसाबमा प्रहरी अघि बढेको स्थानीय बासिन्दाले बताए । चौधरी कानेपोखरीमा किराना पसल सञ्चालन गरेर बसेका व्यक्ति हुन् । स्थानीयका अनुसार सुरुमा प्रहरीले यस घटनाका सम्बन्धमा पीडित परिवारले दिएको किटानी जाहेरी नै लिन अस्वीकार गरेको थियो ।

विभिन्न दबाबपछि जाहेरी लिएको प्रहरीले चौधरीलाई पक्राउ गर्न पनि आलटाल गरेको र ढिलो गरेर पक्राउ गरेको उनीहरुको भनाइ छ । चौधरीले दुई साताअघि चिनजान भएकी किशोरीलाई सल्लाह गनेर आफ्नै घरमा बोलाएर रातभर राख्दै बलात्कार गरेको खुलेको प्रहरी स्रोतले बतायो । ‘दुई साताअघि चिनजान भएको आधारमा किशोरीलाई विभिन्न बहाना बनाई आफ्नै घरमा बोलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘मदिरासँग मिसाउँदै नसालु पदार्थ खुवाएर लट्याएपछि रातभर घरमा राखेर बलात्कार गरेको पाइएको छ ।’ नसालु पदार्थ खुवाएर बारम्बार बलात्कार गरिएकी युवती चौधरीकै घरनजिक भोलिपल्ट बिहान बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यसपछि स्थानीय बासिन्दाले उद्धार गर्दै उपचारका लागि लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको हो । किशोरीको अहिले विराटनगरकै कोसी अस्पतालमा उपचार भइरहेको छ । उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार बेलुका अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

बलात्कारका कारण लागेको चोटसँगै किशोरीको योनीबाट अत्याधिक रक्तश्राव भएको पाइएको चिकित्सकले बताएको प्रहरी स्रोतको भनाइ छ । बलात्कारमा संलग्न भनिएका युवालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएका कारण कुनै पनि आशंका नगर्न इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काले सबैमा आग्रह गर्नु भएको छ ।

उहाँले घटनामा संलग्न भनिएका चौधरीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान थालिएको बताउनु भयो । अनुसन्धानपछि घटनाको सबै वास्तविकता बाहिर आउने भएकाले अहिल्यै सबै कुरा खुलाउनसक्ने अवस्था नभएको खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button