Tune to BFM 91.2|Biratnagar

मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित चार कोरोबारी पक्राउ

विराटनगर, २७ पुस । मोरङको उर्लाबारी र विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित चार जना कारोबारीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्राउन सुगरलाई महँगो र उच्च गुणस्तरमध्येको लागुऔषध मानिन्छ । विराटनगरबाट एक जना भारतीय नागरिकसहित दुई युवा र उर्लाबारीबाट एक युवतीसहित दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

उहाँका अनुसार उर्लाबारी नगरपालिका–६ मा रहेको होटल ह्याभन भ्यालीबाट मोरङको रतुवामाई नगरपालिका–१० का धजेन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–४ की २० वर्षीया कविता लिम्बू पक्राउ परेका छन् । उनीहरुको साथबाट प्रहरीले १४ ग्राम ब्राउन सुगर फेला परेको छ । भारतको पानी ट्यांकीबाट नेपाल भित्राएका उनीहरुको योजना नेपालका विभिन्न भागमा सप्लाई गर्ने रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु कारोबारी र सेवनकर्ता भएको खुलेको छ । होटलको कोठा नम्बर ६ बाट पक्राउ परेका भट्टराई र लिम्बूको साथबाट प्रहरीले ब्राउन सुगरको खरिदबिक्रीमा प्रयोग गरिने नापतौल मेसिन पनि बरामद गरेको छ ।

दुवै जनाले झोला र होटलको कोठाभित्र रहेको खाटमुनि लुकाएको अवस्थामा ब्राउन सुगर फेला परेको हो । उनीहरुको सम्पर्क र कनेक्सन भारतको पानी ट्यांकीमा ब्राउन सुगरको कारोबार गरेर बसेकाहरुसँग रहेको प्रहरीको भनाइ छ । त्यस्तै विराटनगर महानगरपालिका–१० शान्ति चोकबाट प्रहरीले ब्राउन सुगरसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । एक जना भारतीय नागरिक हुन् । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ वर्षीय धमेन्द्र रजक र भारत अररीयाका २२ वर्षीय मोहम्द अफरोजलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट चार ग्राम पाँच सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको एसपी खड्काले बताउनु भयो । उनीहरुले भारतको जोगवनीबाट ब्राउन सुगर लिएर आएको खुलेको छ । पैदल नै रहेका उनीहरुले कसैलाई बिक्री गर्न खोज्दै गर्दा पक्राउ गरिएको प्रहरीको भनाइ छ । ब्राउन सुगरसहित पक्राउ परेका चारै जनाविरुद्ध सोमबार लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइने एसपी खड्काले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button