Tune to BFM 91.2|Biratnagar

मोरङको कानेपोखरीमा स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु

विराटनगर, २५ पुस । स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु भएपछि मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी गय राति पाँच घण्टासम्म तनावग्रस्त बन्नु पुग्यो । कानेपोखरी–६ मा रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले कानेपोखरी–रंगेली सडक खण्डमा को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको छ । रंगेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवं सहायक प्रिन्सीपलसमेत रहुनु भएकी दीपाका श्रीमान विद्या नेपाल, ६ वर्षीय छोरा र १४ वर्षीया छोरी हुनुहुन्छ । साना किसान सहकारी संस्थाको कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दुर्घटनामा परेको देवर सन्तोषप्रसाद नेपालले बताउनु भयो । मृतक महिला चढेको मोटरसाइकल उनकै भाई पर्ने विकल भट्टराईले चलाउनु भएको थियो ।

दिउँसो ४ः३० बजेतिर भएको दुर्घटनामा परेर विकल पनि सामान्य घाइते हुनु भएको छ । घटना भएका बेला मोटरसाइकल र बस उत्तरबाट दक्षिणतर्फ जाँदै थिए । चालकको गम्भीर लापरबाहीले घटना भएकोभन्दै आक्रोसित बनेका स्थानीय बासिन्दाले लगातार पाँच घण्टासम्म नाराबाजी र प्रदर्शन गरेका थिए । हत्या गर्ने उदेश्यले बस ब्याक गरेर घटना गराइएकोभन्दै उनीहरुले राति १० बजेसम्म सडकमै शव राखेर प्रदर्शन गर्दा अवस्था तनावग्रस्त बन्यो ।

आक्रोसित भीड ढुुंगामुडा गर्दै तोडफोडमा उत्रन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । बोर्डिङ स्कुलमासमेत तोडफोडको प्रयास गरिएको थियो । आगो बालेर सडक अवरुद्ध बनाउँदै घटनास्थलमा भेला भएकाले जनप्रतिनिधिकाविरुद्ध पनि नाराबाजी गरेका थिए । बस र चालकलाई घटनास्थलमै ल्याउनुपर्ने माग राख्दै प्रदर्शन हुँदा अवस्था तनावपूर्ण बनेको कानेपोखरी–५ का वडा अध्यक्ष चरण गुरुङको भनाइ छ । दोषी चालकलाई कानुनअनुसार कारबाही गर्ने र पीडित पक्षलाई न्याय दिने सहमतिपछि राति १० बजेतिर प्रहरीले घटनास्थलबाट शव उठाउन पाएका जानकारी गुरुङले दिनु भयो ।

उहाँका अनुसार सुरुमा शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगिएको थियो । त्यसपछि प्रहरीले रंगेली अस्पताल लगेको छ । डीएसपी गिरीले सुरक्षाको दृष्टिकोणले शव मंगलबारेमा राख्न सम्भव नभएकाले सुरक्षा व्यवस्थासहित पोस्टमार्टमका लागि रंगेली लगिएको जानकारी दिनु भयो । डीएसपी गिरीका अनुसार घटनास्थलको अवस्था थप खराब बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन रंगेली, उर्लाबारी, बेलबारी, पथरी लगायतका स्थानबाट ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको थियो । त्यस क्रममा आक्रोसित भीडबाट प्रहार भएको ढुंगाले लागेर इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का सामान्य घाइते हुनु भएको छ ।

आक्रोसित समूहले रंगेली प्रहरीको बा १ झ ७३६३ नम्बरको गाडी र शव उठाउन घटनास्थलमा ल्याइएको मे १ च २३०८ नम्बरको पिकअप भेनमा तोडफोड पनि गरेका छन् । घटनापछि बसका चालक राजु श्रेष्ठ फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घाइते मोटरसाइकल चालक भट्टराईले भने तीव्र गतिमा रहेको बस सुरुमा मोटरसाइकललाई ओभरटेक गरेर अगाडि बढेको बताउनु भयो । ‘

अलि तल पुगेपछि बस रोकियो । हामीलाई अगाडि जाने बाटो नभएपछि मैले पनि मोटरसाइकल रोकें,’ उहाँले भन्नु भयो, ‘तर एक्कासि बस ब्याक सारेर ल्याइयो । हामीलाई सोहोरेर लगिहालो ।’ अलिकति पर पुर्याएपछि बसको चक्काको बीचबाट आफू निस्कन पाएकाले मात्रै बाँच्न सकेको भट्टराईले सुनाउनु भयो । मृतक दीपाका देवर सन्तोषले दुर्घटनामा बस चालकको गम्भीर लापरबाही रहेको बताउनु भयो ।

‘घटनाको प्रकृति हेर्दा सुरुमा ठक्कर दिएपछि बस ब्याक गरेर किचेको देखिन्छ,’ उहाँले भन्नु भयो , ‘भाउजूको छात्तीमा बसको चक्काको डाम रहेकाले पनि यो कुरो पुष्टि हुन्छ ।’ घटनास्थलको अवस्था हेर्दा चक्का घिसारेर ब्याक गर्दै मार्ने नियतले बसले हानेको देखिने सन्तोषको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button