Tune to BFM 91.2|Biratnagar

मोरङको गछिया खोलामा भेटियो महिलाको अर्धनग्न शव

विराटनगर, २८ असार । मोरङको गछिया खोलामा आज बिहान २४ वर्षीया विवाहित महिलाको अर्धनग्न शव फेला परेको छ । सुन्दरहरैँचा नगरपालिका–७ की छेविनी ऋषिदेवलाई घरनजिकको गछिया खोलामा मृत फेला पारेपछि स्थानीय बासिन्दाले प्रहरीलाई बिहान ९ बजेतिर खवर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले खोलाबीचको भंगालोमा घोप्टो परेर रहेको शव बाहिर निकालेको थियो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । शव बाहिर निकाल्दा महिलाको शरीरको कम्मरभन्दामुनिको भाग पूरै कपडाविहीन थियो ।

कम्मरमाथि पनि भित्री वस्त्र मात्रै रहेको अवस्थामा खोलाको पानीभित्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताउनु भयो । उहाँका अनुसार शव भेटिएको स्थाननजिक खोजी गरिए पनि कपडा फेला पार्न सकिएन । घटना रहस्यमय एवं शंकास्पद देखिएपछि मृतक महिलाका श्रीमान २६ वर्षीय मन्जे ऋषिदेवलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको जिसीले बताउनु भयो । उहाँका अनुसार हिजोसाँझ श्रीमान–श्रीमतीबीच सामान्य भनाभन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्जेले श्रीमतीले अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेर आएका कारण भनाभन र विवाद भएको बताएको प्रहरीले जनाएको छ ।

उनले प्रहरीलाई दिएको जानकारी अनुसार दोहोरो वादविवादपछि राति ८ः३० बजेतिर छेविनी घरबाट निस्किएर सम्पर्कविहीन बनेकी हुन् । घरबाट निस्किएर रातको समयमा वेपत्ता भएकी महिलाको खोजी गर्ने क्रममा शव बिहान खोलामा भेटिएको एसपी जिसीले बताउनु भयो । स्थानीय बासिन्दाका अनुसार दुवै जना मादक पदार्थ सेवन (मापसे) गरेर घरमा आउने र दैनिकजसो झैझगडा एवं वादविवाद गरिरहन्थे । मृत फेला परेकी छेविनीको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ । मृत्युको यकिन कारण खुल्न नसकेको बताउँदै एसपी जिसीले पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि र थप अनुसन्धानबाट घटनाको यथार्थ खुल्ने जानकारी दिनु भयो ।

शरीरमा लगाएका पूरै कपडा नभेटिँदा भने घटनालाई अस्वभाविक मानेर गम्भीर ढंगले अनुसन्धान थालिएको उहाँको भनाइ छ । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका मन्जेले दैनिक ज्यालामजदुरी र श्रीमतीले गछिया खोलामा ढुंगा र गिट्टी संकलनको काम गर्ने गरेको स्थानीयले बताए । उनीहरुका आठ वर्षमुनिका दुई छोरा र एक छोरी गरेर तीन सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button