Tune to BFM 91.2|Biratnagar

मोरङको जहदाबाट ठूलो परिणामको ब्राण्डेड मदिरा बरामद

विराटनगर, २ चैत । प्रहरीले मोरङको जहदाबाट ठूलो परिणामको मदिरा नियन्त्रणमा लिएर एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारततिर तस्करी गर्न ठिक्क पारिएको अवस्थामा मदिरा बरामद गर्दै प्रहरीले तस्करीमा संलग्न भारत मटियारीका ३२ वर्षीय शिवलाल रायलाई आज बिहान पक्राउ गरेको हो ।

जहदा गाउँपालिका–१ स्थित लङ्का टोलबाट विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरासहित रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनु भयो । तस्करी हुने गरेको सूचनाका आधारमा जहदा –१ का रमेश यादवको घरमा छापा हान्न प्रहरीको विशेष टोली बिहान १ः३० बजेतिर पुगेको थियो । प्रहरीलाई देख्नसाथ फरार बनेका यादवको खोजी भइरहेको राईले बताउनु भयो ।

प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादन हुने चर्चित ब्राण्डका र महँगो मूल्य पर्ने ‘सिलप्याक’ मदिरा भारत तस्करी हुने गरेको पाइएपछि सीमा क्षेत्रमा कडाई गरिएको राईको भनाइ छ । यादवको घरबाट प्रहरीले सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमङ्ग, ब्ल्याक ओके लगायतका चर्चित ब्राण्डका महँगा मदिरा बरामद गरेको हो ।

विभिन्न ब्राण्डका तीन सय ५० कार्टुन मदिरा सात लाख मूल्य बराबरको रहेको जानकारी मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दिनु भयो । नियन्त्रणमा लिइएको तस्करीको मदिरा र सवारी साधन तथा पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि आज आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button