Tune to BFM 91.2|Biratnagar

मोरङको धनपालथानमा महिला मृत फेला

विराटनगर, १८ साउन । मोरङको धनपालथान गाउँपालिका–४ मा गय राति एक महिला मृत फेला परेकी छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार घरबाट लगभग ५० मिटरको दूरीमा रोपाइँ गरिसकिएको खेतमा ३५ वर्षीया जानकीदेवी मुखियालाई मृत फेला पारिएको हो ।

परिवारकै सदस्यले पानी जमेको खेतमा शव देखेपछि राति ११ः४५ बजेतिर प्रहरीलाई खबर गरेको जानकारी उहाँले दिनु भयो । आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत आइरहेको अवस्थामा मृत फेला पारेपछि परिवारका सदस्य एवं छिमेकीले शव घरमा ल्याएर राखेर प्रहरीलाई घटनाको जानकारी दिएको श्रेष्ठले बताउनु भयो । मृत्युको कारण प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल ल्याइएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण यकिन हुने डीएसपी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जानकीदेवीले पालेको हाँस हराएको र खोजी गर्ने क्रममा दुई/तीन दिनअघि छिमेकीसँग उनको विवाद भएको पाइएको छ । महिला मृत फेला परेपछि उनीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरु ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उनकी श्रीमती सती मुखियालाई नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button