Tune to BFM 91.2|Biratnagar

मोरङको मिक्लाजुङमा पारिवारिक झगडामा छिमेकीको हत्या

विराटनगर, ६ भदौ । मोरङको मिक्लाजुङमा पारिवारिक झगडामा छिमेकीको हत्या भएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको हो । मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरु ३० वर्षीय आइतराज एवं २६ वर्षीय सञ्जय तामाङसहितले आक्रमण गर्दा लिम्बूको मृत्यु भएको श्रेष्ठको भनाइ छ ।

उनका अनुसार छिमेकमा डेरा गरेर बस्ने मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच झगडा भएको सुनेर लिम्बू भदौ ३ गते राति ८ ः ४० बजेतिर घटनास्थलमा पुगेका थिए । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएको पाइएको छ । बहिनी–ज्वाईंको झगडा भएको सुनेपछि रविनका जेठान ४० वर्षीय भाग्य बम्जन (तामाङ) आफ्नो मासु पसलमा आएका ५५ वर्षीय दुर्गाबहादुर कार्की र लिम्बूलाई लिएर रविनको डेरामा पुगेको खुलेको प्रहरीले जनाएको छ । त्यहाँ पुगेर परिवारमा झगडा नगर्न एवं मिलेर बस्नका लागि सुम्झाउने क्रममा रविन, आइतराज र सञ्जयसहितले लिम्बू र कार्कीमाथि दाउराले कुटपिट गरेको डिएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आक्रमण गरिएपछि गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा शनिबार राति ११ः४५ बजेतिर मृत्यु भएको हो ।

कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाउन घटनाको अनुसन्धान थालिएको जानकारी श्रेष्ठले दिए । रविनका जेठान भाग्यलाई पनि नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button