Tune to BFM 91.2|Biratnagar

मोरङको रतुवामाईमा बालिका बलात्कृत

विराटनगर, ५ भदौ । मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय २० वर्षीय अभिषेक राजवंशीले बालिकालाई रतुवामाई–७ मसानघाटमा लगेर बुधबार साँझ ललाईफकाई बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो । उहाँका अनुसार रक्तश्राव नरोकिएर बलात्कृत बालिका बेहोस समेत बनेकी थिइन् ।

स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उपचारका लागि राजवंशीले आफैले बालिकालाई लगेकोे खुलेको छ । उपचारका क्रममा बालिका बलात्कृत भएको खुलेको डीएसपी राईले बताउनु भयो । उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचाररत बालिकाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उहाँको भनाइ छ ।

उपचारका क्रममा बालिकालाई दुई पिन्ट रगतसमेत चढाउनु परेको थियो । प्रहरीले पक्राउ गरेर बलात्कारमा संलग्न राजवंशीमाथि अनुसन्धान अघि बढाएको छ । बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि कानुनले बलात्कार मानेको छ ।

राजवंशीले यसअघि पनि बालिकामाथि बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ । तर कसैलाई पनि नभन्न दबाब दिएका कारण बालिकाले यसअघिको घटना अभिभावक र आफन्तलाई नसुनाएको पाइएको डीएसपी राईले बताउनु भयो ।

राजवंशीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन प्रहरीले आज अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button