Tune to BFM 91.2|Biratnagar

मोरङको लेटाङमा भएको दुर्घटनामा छ जना घाइते

विराटनगर, ४ कात्तिक । मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा गुडिरहेको टेम्पो सडक किनारमा राखिएको सखुवाको मुडामा ठोक्किएर भएको दुर्घटनामा परेर छ जना घाइते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ७३५१ नम्बरको टेम्पो हिजोसाँझ दुर्घटनामा परेको हो । त्यस क्रममा विपरित दिशाबाट आइरहेको तीन जना सवार को १७ प ६१४३ नम्बरको मोटरसाइकल पनि अनियन्त्रित भएर दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर टेम्पो चालक उर्लाबारी नगरपालिका–१ का ३७ वर्षीय धनबहादुर श्रेष्ठ, टेम्पोमा सवार लेटाङ–६ का ३३ वर्षीय सन्तोष राई र लेटाङ–२ का २१ वर्षीय देव राना मगर घाइते भएका छन् ।

त्यस्तै मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–१ का २२ वर्षीय नितेश धिमाल, मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय प्रज्वल गुरुङ र १३ वर्षीय सुशन पुन घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको सामुदायिक मेडिकल लेटाङमा उपचार भइरहेको छ ।

आँखामा गम्भीर चोट लागेका सन्तोषलाई थप उपचारका लागि विराटनगर आँखा अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button