Tune to BFM 91.2|Biratnagar

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

विराटनगर, ६ माघ । मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । जंगलमा घाँस काट्दै गरेका बेला हात्तीले आक्रमण गर्दा सुन्दरहरैँचा नगरपालिका –१० की २८ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालकाअनुसार पराजुलीलाई बिहान ९ बजेतिर हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएकी उनको दिउँसो १ः३० बजेतिर मृत्यु भएको जानकारी ढकालले दिनु भयो । छरछिमेकी र गाउँलेसँगै सीता पनि घाँस काट्न गएका बेला लोहोन्द्रा साझेदारी वनमा घटना भएको स्थानीय चूडामणि नेपालले बताउनु भयो ।साथीलाई हात्तीले आक्रमण गरेको चाल पाएपछि सँगै घाँस काटिरहनु भएकी मीरा बोगटीले भने भागेर ज्यान बचाउनु भएको थियो ।

घटनापछि हात्ती दुई÷तीन पटक कराएर पश्चिमको जंगलतर्फ लागेको नेपालले बताउनु भयो । घटना भएका बेला जंगलमा नजिकैको दृष्य पनि नदेखिने गरी बाक्लो हुस्सु लागेको थियो । हुस्सुकै कारण नजिकै आउँदा पनि नदेख्दा जम्काभेट भएपछि हात्तीले सीतालाई आक्रमण गरेको हुनसक्ने स्थानीयको भनाइ छ ।

घटनास्थलमा सीताले काटेको एक मुट्ठी घाँस, उनले लगाएका चप्पल र एउटा गाम्छा पनि भेटिएको छ । दुई साताअघि देखिनै जंगल आसपास र गाउँमा चार÷पाँच वटाको समूहमा जंगली हात्ती नियमित देखा परिरहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button