Tune to BFM 91.2|Biratnagar

मोरङको सुन्दरहरैँचामा हायस र मोटरसाइकल ठोक्किएर दुर्घटना, दुईको मृत्यु, दुई जना घाइते

विराटनगर, २३ फागुन । मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको हायस माइक्रो र मोटरसाइकल ठोक्किएर मोरङको सुन्दरहरैँचामा भएको दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक आज बिहानका राति १२ः४० बजेतिर भएको दुर्घटनामा मोटरसाइकलमा सवार रहेकाको मृत्यु भएको हो ।

हायसका चालक र सह–चालक गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिनु भयो । मृतक दुवै जनाको बिहान ७ बजेतिर मात्रै पहिचान खुलेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिहान १ः४० बजेतिर विराटनगरको कोसी अस्पतालमा ज्यान गएको एसपी शर्माले बताउनु भयो । उहाँका अनुसार ढिलो गरेर दुवै मृतकको पहिचान खुले पनि उनीहरुमध्ये कसले मोटरसाइकल चलाएको थियो भनेर यकिन हुन सकिरहेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका हायसका चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरीको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको एसपी शर्माले बताउनु भयो । दुवै जनाको अवस्था चिन्ताजनक छ । दुवै जनाले मादक पदार्थ सेवन (मापसे) गरेको खुलेको प्रहरीले जनाएको छ । मृतकहरुले मापसे गरे–नगरेको खुल्न बाँकी छ ।

प्रहरीले दुर्घटनाको कारण मापसे हुनसक्ने बताएको छ । एसपी शर्माका अनुसार दुर्घटना भए पनि हायसमा यात्रा गरिरहेका १२ जना यात्रु भने सकुशल रहेका छन् । उनीहरु आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोडतिर जाँदै गरेको बा ४ ख ६९६ नम्बरको हायस माइक्रो र विपरीत दिशा (पूर्वबाट पश्चिमतर्फ) बाट आउँदै गरेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल सुन्दरहरैँचा–८ स्थित मध्याली पुलनजिक एक्कासि हायसको अगाडिको भागमा ठोक्किएको घटनाका प्रत्यक्षदर्शी यात्रुले प्रहरीलाई बताएका छन् । अगाडि मोटरसाइकल ठोक्किएपछि अनियन्त्रित बनेको हायसले सवार रहेका दुई जनासहित मोटरसाइकललाई घिसारेर दुई सय मिटर पर सडकको दक्षिणतर्फ सुन्दरहरैँचा–७ स्थित खेतमा पुर्याएको जानकारी एसपी शर्माले दिनुुभयो ।

दुर्घटनापछि भएको आगलागीमा परेर मोटरसाइकल पूर्ण रुपमा जलेको छ भने दुर्घटनामा हायसको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले घटनाका बारेमा गम्भीर ढंगले अनुसन्धान थालिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button