Tune to BFM 91.2|Biratnagar

मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १४ मंसिर । मोरङको सुन्दरहरैँचा र उर्लाबारीमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–९ चाँदनी पेट्रोलपम्प अगाडि गय राति ९ः३० बजेतिर स्कुटर र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३८ प १६६५ नम्बरको स्कुटर र विपरीत दिशातर्फ जाँदै गरेको को २ त ३१९६ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिमल्सिनाका अनुसार दुर्घटनामा परेर स्कुटर चालक सुन्दरहरैँचा–९ का ४२ वर्षीय मकेश्वर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा ज्यान गएको तिमल्सिनाले बताउनु भयो ।

ट्याक्टर चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै उर्लाबारी नगरपालिका–८ स्थित इटहरा–उर्लाबारी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको डीएसपी तिमल्सिनाले बताउनु भयो । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा ज्यान गएको हो ।

मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी–८ का ३० वर्षीय उपेन्द्र दनुवार गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको उर्लाबारीमै उपचार भइरहेको तिमल्सिनाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button