Tune to BFM 91.2|Biratnagar

मोरङबाट हतियार र लागुऔषधको कारोबार गिरोहका तीन जना पक्राउ

विराटनगर, २७ जेठ । मोरङबाट प्रहरीले हतियार र लागुऔषध कारोबारमा संलग्न गिरोहका तीन जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोली उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । सुरुमा प्रहरीले धमला र भट्टराईलाई पक्राउ गरेको थियो । उनीहरुले दिएको सूचनाका आधारमा मियाँ पक्राउ परेका हुन् ।

धमला र भट्टराई सवार रहेको प्रदेश १–०२–०४१ प ८८८७ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेनजिक आज बिहान ६ः१५ बजेतिर दुर्घटनामा परेको थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा आफै अनियन्त्रित भएर दुर्घटनामा परेको मोटरसाइकलले पैदल हिँडिरहेका दुई किशोर र एक वृद्ध पुरुषसहित तीन जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर घाइते भएकामध्ये मोटरसाइकलमा सवार धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागुऔषध फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

उहाँका अनुसार झोलाबाट लागुऔषध आठ सय ९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद भएको छ । पक्राउ परेकाहरुले हतियार र लागुऔषध कहाँकहाँ बिक्री गरेका छन्भन्ने बारेमा पनि प्रहरीले खोजी थालेको छ । एसपी खड्काले पक्राउ परेकाले दिएको सूचना र प्रहरीले प्राप्त गरेको प्रमाणका आधारमा अनुसन्धानको दायरा थप फराकिलो पारेर लगिएको जानकारी दिनु भयो । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button