Tune to BFM 91.2|Biratnagar

मोरङमा असार ७ गतेसम्मका लागी निषेधाज्ञा

विराटनगर, ३१ जेठ । केही खुकुलो प्रावधानसहित मोरङ प्रशासनले असार ७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गरेको छ । आज बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

असार १ गते बिहान १० बजेदेखि लागु हुने गरि असार ७ गते राती १२ बजेसम्मका लागी निषेधाज्ञा लम्ब्याईएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।उहाँले अबको निषेधाज्ञामा खाद्यवस्तु, ईन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, माछामासु र पुस्तक पसल लगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने जानकारी दिनुभयो । अब वर्कसपहरु पनि बिहानैदेखि सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । निषेधाज्ञा आदेशानुसार अब दुध तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्ने पाइने छ ।

यस्तै सबैप्रकारका कृषिजन्य उत्पादनको ओसारपोसारमा पनि कुनै रोकटोक नहुने आदेशमा उल्लेख छ ।मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भने निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button