Tune to BFM 91.2|Biratnagar

मोरङमा आज एक वृद्धासहित पाँच सङ्क्रमितको मृत्यु

विराटनगर, ५ जेठ । मोरङमा एक वृद्धा महिलासहित कोरोना भाइरस सङ्क्रमित पाँच जनाको आज बिहान मृत्यु भएको छ । विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई÷दुई तथा मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

वृद्धा महिलाबाहेक मृत्यु हुनेमा एक वृद्धसहित चार जना पुरुष रहेका छन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–८ का ४६ वर्षीय पुरुषको बिहान ५ बजेतिर मृत्यु भएको छ । केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले वैशाख २७ गते उपचारका लागि भर्ना गरिएका पुरुषको मृत्यु भएको जानकारी दिनु भयो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका–५ का ४३ वर्षीय पुरुषको बिहानका राति १ बजेतिर कोसीमै मृत्यु भएको छ । राजवंशीका अनुसार उनलाई उपचारका लागि जेठ ३ गते भर्ना गरिएको थियो ।

नोबेल शिक्षण अस्पतालमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–७ का ५४ वर्षीय पुरुषको बिहान ८ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएका पुरुषलाई जेठ २ गते उपचारका लागि ल्याइएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनु भयो । झापाको दमक नगरपालिका–५ का ७३ वर्षीय वृद्ध पुरुषको बिहान ५ बजेतिर नोबेलमै मृत्यु भएको छ । वृद्धलाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको थियो । विराट शिक्षण अस्पतालमा विराटनगरको उच्च व्यापारिक घरनाकी एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार विराटनगर–३ की ७० वर्षीया वृद्धा महिलाको बिहानका राति २ः३० बजेतिर मृत्यु भएको हो । कोरोना पुष्टि भएकी वृद्धालाई उपचारका लागि वैशाख ३० गते अस्पताल भर्ना गरिएको जानकारी देवले दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button