Tune to BFM 91.2|Biratnagar

मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


विराटनगर, २५ कात्तिक । पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । ९ जनाको उपचारका क्रममा अस्पतालमा र २ जनाको होमआईसोलेसनमा मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, होम आइसोलेसनमा दुई र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

नोबेल अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुष, झापा गौरादह–५ का ६५ वर्षीय पुरुष, झापाको हल्दिबारी–४ का ७० वर्षीय पुरुष, उदयपुरको त्रियुगा–३ का २१ वर्षीय पुरुष र मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको प्रवन्धक नारायण दाहालले बताउनुभयो । मृत्यु हुने सवैमा श्वासप्रश्वासमा समस्या देखिएको उहाँले बताउनुभयो । दाहालका अनुसार विहान ५ : ३० देखि ८: ३० सम्ममा ५ जनाको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा विराटनगर –१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः३० बजेतिर मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । कोशी कोभिडमा ६९ वर्षीया महिलाको मंगलबार बिहान ज्यान गएको छ ।

सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक बस्नेतले बताउनुभयो । विराटनगर–३ का ७७ वर्षीय पुरुषको पनि कोशी कोभिडमै विहान ७ ः ३० मा ज्यान गएको हो । न्युरो अस्पताल विराटनगर मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ । निमोनियाको समस्या रहेका पुरुषलाई कात्तिक २१ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताउनुभयो ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया महिलाको होमआईसोलेसनमा ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–३ का ८९ वर्षीय पुरुषको मंगलबार राती होमआईसोलेसनमा मृत्यु भएको छ । वडाध्यक्ष विनोद बस्नेतका अनुसार वृद्धको मृत्यु राति ९ बजेतिर भएको हो । पीसीआर परीक्षण गराउँदा वृद्धलाई १७ दिनअघि कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button