Tune to BFM 91.2|Biratnagar

मोरङमा तीन संक्रमितको मृत्यु

विराटनगर, २४ कात्तिक । मोरङका भिन्दाभिन्दै कोभिड अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित तीन जनाको पछिल्लो १२ घण्टाभित्र मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये एक वृद्धा महिला र दुई पुरुष छन् । दुई जनाको आज बिहान र एक जनाको गय राति ज्यान गएको हो । मृत्यु हुनेमध्ये एक जना प्रदेश २ को सिरहा तथा दुई जना प्रदेश १ को उदयपुर र झापाका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–११ की ६५ वर्षीया वृद्धा महिलाको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वृद्धालाई उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार उपचारकै क्रममा आज बिहान ६ बजेतिर वृद्धाको मृत्यु भएको हो । त्यस्तै झापाको दमक नगरपालिका–१ का ४२ वर्षीय पुरुषको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ७ बजेतिर मृत्यु भएको छ ।

अस्पतालका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

अस्पताल प्रबन्धक नारायण दाहालका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको आइतबार राति १० बजे मृत्यु भएको जानकारी दाहालले दिनु भयो ।

मृत्यु भएकाहरुमा श्वासप्रश्वास, ज्वरो, निमोनिया, मधुमेह, उच्च रक्तचाप लगायतको समस्या रहेको अस्पतालहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button