Tune to BFM 91.2|Biratnagar

मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु


विराटनगर, ८ मंसिर ।
पछिल्लो २४ घण्टामा मोरंगमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराट शिक्षण अस्पताल र म्याक्स अस्पतालमा एक/एक जना संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान मृत्यु भएको छ ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो । इलामको सूर्योदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा गएराति मृत्यु भएको छ । अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा पुरुषको राति १०ः३० बजेतिर मृत्यु भएको देवको भनाइ छ । म्याक्स अस्पताल विराटनगरमा उदयपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको हिजो साँझ ६ः३० बजेतिर मृत्यु भएको अस्पतालका सुपरभाइजर अमित मण्डलले जानकारी दिनुभयो । प्रदेश १ मा सोमबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button