Tune to BFM 91.2|Biratnagar

मोरङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर, १७ वैशाख । मोरङको लेटाङ र बेलबारीमा भएको दुर्घटनामा परेर दुई जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर लेटाङको जाँतेमा एक पुरुष र बेलबारीमा एक वृद्धा महिलाको मृत्यु भएको हो । लेटाङ नगरपालिका–८ जाँतेमा को १ ख १९२४ नम्बरको बसले किचेर हिजोसाँझ मिक्लाजुङ गाउँपालिका–५ का ५१ को सहवीर मगरको मृत्यु भएको छ । पथरीबाट लेटाङ जाँदै गरेको बसमा चढेर पथरीबाट जाँते पुगेका मगरलाई साँझ ५ः३० बजेतिर त्यही बसले किचेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताउनु भयो ।

मगरको घटनास्थलमै मृत्यु भएको हो । नरोकिएकै अवस्थामा बसदेखि ओर्लने क्रममा ढोकाबाट लडेपछि पछाडिको चक्काले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको जानकारी राईले दिनु भयो । बस र चालक पथरीशनिश्चरे नगरपालिका–४ का ३३ वर्षीय गङ्गाप्रसाद लुइँटेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट यात्रुले बसबाट ओर्लनलाई हतार गर्दा घटना भएको देखिएको डीएसपी राईको भनाइ छ । त्यस्तै मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुुलमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा तीव्र गतिमा पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको पहेँलो रंगको एफजेड मोटरसाइकलले ठक्कर दिँदा बेलबारी–९ की ८३ वर्षीया मनमाया तामाङको मृत्यु भएको हो ।

डीएसपी राईका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा राति ८ः५० बजेतिर मृत्यु भयो । प्रहरीले दुर्घटना गराउने मोटरसाइकलको नम्बर नखुलेको र घटनापछि मोटरसाइकल तथा पहिचान नभएका चालक फरार रहेकाले खोजी तीव्र पारिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button