Tune to BFM 91.2|Biratnagar

मोरङमा धमाधम नयाँ क्वारेन्टाइन बनाइृदै

विराटनगर, १२ जेठ । कोरोना भाइरसको संक्रमण दर उच्च रहेको भारतबाट भित्रनेको संख्या बढिरहेका बेला मोरङमा धमाधम नयाँ क्वारेन्टाइन थप गरेर सञ्चालनमा ल्याउन थालिएको छ ।

भारत एवं अरु मुलुक र बाहिरी जिल्लाबाट भित्रनेलाई परीक्षण गर्दै कोरोना संक्रमण भए नभएको पुष्टि गर्न दुई साता क्वारेन्टाइनमा राख्ने गरिएको छ । संक्रमण नभएमा दुई सातापछि विदा दिएर होम क्वारेन्टाइनमा पठाइन्छ भने संक्रमण देखिएमा उपचारका लागि कोभिड–२९ अस्पताल लैजाने गरिएको छ ।

मोरङमा पछिल्लो समय १८ वटा नयाँ क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । यस अघि सञ्चालन गरिएका नौसहित मोरङमा क्वारेन्टाइन संख्या २७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले सबै क्वारेन्टाइनमा गरेर करिव सात सय जनालाई राख्न सकिने जनाएको छ । हालसम्म मोरङका आठ जनालाई संक्रमण देखिएको छ । ती मध्ये ३५ र ४१ वर्षका दुई पुरुष रतुवामाई नगरपालिकाभित्रका छन् ।

जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले भारत लगायत अरु मुलुक र नेपालका विभिन्न जिल्लाबाट भित्रनेको संख्या बढेकाले राख्नलाई नयाँ क्वारेन्टाइन थप गर्ने क्रमलाई स्थानीय सरकारले तीव्रता दिएको बताउनु भयो । प्रदेश १ सरकारले नेपाली सेनासँग समन्वय गरेर टाँडीमा सञ्चालन गरेको दुई सय क्षमताको क्वारेन्टाइन अहिले सुन्दरहरैंचाको पूर्वाञ्चल विश्व विद्यालयबाट सञ्चालित छ ।

त्यस बाहेक यस अघि विराटनगरको घिनाघाट प्राथमिक स्वास्थ्य केन्द्र, जहदाको दुर्गा माध्यमिक विद्यालय, केराबारीको प्राथमिक स्वास्थ्य केन्द्र, धनपालथानको स्वास्थ्य चौकी कर्सिया, सुनवर्षीको प्राथमिक स्वास्थ्य केन्द्र अमरदह, रंगेली अस्पताल, बूढीगंगाको मधुग्राम विद्यालय र केराबारीको कालीशक्ति गणमा क्वारेन्टाइन सञ्चालन गरिएका थिए । मोरङमा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या पाँच सय ४५ छ ।

पहिल्यैदेखि सञ्चालन गरिएका र नयाँ बनाइएका क्वारेन्टाइनमा आजसम्ममा दुई सय ७६ पुरुष र २९ महिला गरेर तीन सय पाँच जना छन् । यस अघि क्वारेन्टाइनमा बसेका मध्ये कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि दुई सय नौ पुरुष र ३१ महिला गरेर दुई सय ४० जना घर फर्किसकेका छन् । बाहिरबाट आएकालाई ‘होल्डिङ एरिया’मा राखेर प्राथमिक स्वास्थ्य परीक्षण गर्दै थप दुई साताका लागि क्वारेन्टाइनमा बस्न पठाउने गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बाहिरबाट आएकालाई ‘होल्डिङ एरिया’सम्म लैजान सुरक्षाकर्मीले मद्धत गरिरहेको बताउनु भयो । प्रहरीकाअनुसार एक साताको अवधिमा भारतबाट एक सयको हाराहारीमा मोरङ भित्रिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button