Tune to BFM 91.2|Biratnagar

मोरङमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै : मोरङ प्रशासन

विराटनगर, १७ साउन । मोरङमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दिनप्रतिदिन संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन र सचेत रहन सबैमा अपिल गरेको छ । मोरङ प्रशासनले निषेधाज्ञाको अवधि कम गरिएको भए पनि कोरोना संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआएको र पछिल्लो समय बढ्न थालेको जनाउँदै सचेत हुन सबैमा अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाद्धारा आज जारी सार्वजनिक अपिलमा जनस्वास्थ्य मापदण्ड उल्लंघन र भीडभाडका कारण संक्रमण दर बढ्न थालेको उल्लेख छ । निरौलाले खोप लगाउने कार्य सम्पन्न नभएसम्म सतर्कता अपनाउनुको विकल्प नभएको जनाउनु भएको छ । अनावश्यक भीडभाडका साथ जुलुस, नाराबाजी, सेमिनार नगर्न तथा होटल, पार्टी, विवाह, ब्रतबन्ध, सामाजिक कार्यमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा प्रजिअ निरौलाको जोड छ ।

संख्यात्मक हिसाबले कार्यक्रममा हुने उपस्थिति एवं कोरोनाको बेवास्था गरेर भइरहेको गम्भीर लापरबाहीलाई ध्यान नदिए अवस्था भयावह बन्नसक्ने प्रशासनको चेतावनी छ । प्रशासनले दिएको जानकारी अनुसार आजसम्ममा मोरङमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय पुगेको छ । साथै प्रशासनले निषेधाज्ञाको पालना गर्न पनि सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button