मोरङमा पाँच जनामा डेंगुको संक्रमण, डेंगु विरुद्धको औषधि छर्कन थालियो

0
202

विराटनगर, २९ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिका र विराटनगर महानगरपालिकामा पनि संक्रमण देखिएपछि विभिन्न स्थानीय तहमा डेंगु विरुद्धको औषधि छर्कन थालिएको छ । डेंगुको संक्रमण देखिएका सुन्दरहरैंचाका तीन र विराटनगरका दुई जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसको संक्रमण एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट हुन्छ । डेंगुको संक्रमण देखिएपछि विराटनगर महानगरपालिकासहित मोरङको सुन्दरहरैंचा, उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी लगायतका स्थानीय तहको सक्रियतामा सरसफाई अभियान चलाएर लामखुट्टे मार्ने औषधि छर्कन थालिएको हो । विशेष गरेर सफा पानीमा बसेर दिउँसो मात्रै लामखुट्टेले टोक्दा डेंगुको संक्रमण हुने भएपछि सरसफाईमा ध्यान दिएर औषधि हान्न थालिएको सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बताउन भयो । विराटनगर महानगरपालिकामा आजदेखि लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन थालिएको छ । ४० प्रतिशत मालाथिन र ६० प्रतिशत डिजेल मिसाएर मालाथिन फगीङ स्प्रे गर्न थालिएको महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत एपोलोकुमार भगतले बताउनु भयो । उहाँका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्नका लागि सफा पानी जम्न नदिने र जमेको पानीमा डढेको मोविल वा डिजेल हालिदिने ‘सर्चिङ एण्ड डिस्ट्रोए’ अभियान पनि सुरु गरिएको छ । महानगरले विराटनगरको १, २, ३, र १० नम्बर वडामा आज औषधि छर्किएको हो । भोली १, ३, ४ र १०, शुक्रबार ४, ५, ६ र ७ तथा शनिबार ५, ६, ८ र ९ नम्बर वडामा औषधि हान्ने कार्यक्रम छ । त्यसै गरी असार १ गते ८, ९, ११ र १२ मा, २ गते ११, १२, १३ र १४ मा, ३ गते १४, १५, १६ र १७ मा तथा ४ गते १८, १९ नम्बर वडामा मालाथिन फगीन स्प्रे गर्ने कार्यक्रम तय भएको जानकारी भगतले दिनु भयो । ‘डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्रै टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको छ,’ उहाँले भन्नु भयो, ‘यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि आग्रह गरिसकिएको छ ।’ गाउँ–गाउँमा सर्वसाधारणलाई जागरुक गराउनका लागि परिचालित स्वास्थ्यकर्मीको विशेष टोलीले मोटरसाइकल ग्यारेज, होटल, पसल, सार्वजनिक ठाउँ, बजार र पसल लगायतमा सचेतना फैल्याउने बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । नगरका स्वास्थ्य संयोजक सन्तोश विश्वकर्माका अनुसार सफा पानी जमेको स्थानमा संक्रमण फैल्याउने लामखुट्टेले फुल पार्ने भएकाले फ्रिज, पूजाका सामग्री, पुराना टायर, गमला र पानीका ट्यांकीको सफाईमा ध्यान दिइनु पर्छ । डेंगु नियन्त्रणकै लागि भनेर प्रदेश १ सरकारले ८० लाख रुपैयाँ बजेट समेत छुट्याएको छ ।

Comments

comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here