Tune to BFM 91.2|Biratnagar

मोरङमा भएको दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, ३० चैत । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा करेन्ट लागेर एक जनाको हिजो साँझ मृत्यु भएको छ । बिजुलीको वाइरिङ गर्ने क्रममा करेन्ट लागेर सुन्दरहरैँचा–७ का २६ वर्षीय विनोद घिमिरेको ज्यान गएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार छिमेकीको घरमा बिजुलीको वाइरिङ गरिरहेका बेला करेन्ट लागेर घिमिरे गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएको छ । डीएसपी राईले वाइरिङ लगायत बिजुलीको काम गर्दा सावधानी अपनाउनुपर्ने बताउनु भयो । लापरबाहीपूर्ण तरिकाले बिजुलीको काम गर्दा करेन्ट लागेर मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।

यसैबिच मोटरसाइकल दुर्घटना हुँदा मोरङको लेटाङमा आज बिहान एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रहेका छन् । मे ९ प ९५१ नम्बरको मोटरसाइकलका चालक लेटाङ नगरपालिका–९ का ४५ वर्षीय रवीन्द्रकुमार लिम्बूको दुर्घटनामा परेर ज्यान गएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार लेटाङ–९ स्थित पारुहाङ चोकमा आफै अनियन्त्रित भएर बिहान १ बजेतिर मोटरसाइकल दुर्घटनामा पर्दा लिम्बू गम्भीर घाइते भएका थिए ।

टाउकोमा गहिरो चोट लागेका उनको उपचारका क्रममा बिहान ४ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको डीएसपी राईले बताउनु भयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button