मोरङमा म्यादी नगर प्रहरी भर्ना गरिँदै
विराटनगर, १३ जेठ । कोरोना भाइरसको त्रासकाबीचमा मोरङका तीन स्थानीय तहले म्यादी नगर प्रहरी भर्नाको प्रक्रिया अघि बढाएका छन् ।
भारतसँग सीमाना जोडिएका रतुवामाई, सुनवर्षी र रंगेली नगरपालिकाले एकै साथ म्यादी नगर प्रहरी भर्नाको तयारी थालेका हुन् । तीनवटै स्थानीय तहले २३/२३ जना भर्ना गर्ने गरी आवेदन खुल्ला गरेका छन् ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सुरक्षाकर्मीसँगै म्यादीलाई परिचालन गरिने रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बताउनु भयो । कोरोना संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतबाट दिन प्रतिदिन ठूलो संख्यामा मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि नियन्त्रणमा सुरक्षाकर्मीलाई सहयोग गर्न म्यादी भर्ना गर्नै पर्ने अवस्था आएको उहाँको भनाइ छ ।
म्यादी प्रहरीलाई सुरक्षा निकायले आवश्यकता अनुसार परिचालन गर्न सक्ने छन् । मोरङका तीनवटै नगरपालिका र भारतबीच ३१ किलोमिटरको सीमा छ । स्थानीय सरकारका तर्फबाट भर्ना भइसकेपछि म्यादी प्रहरीलाई ३१ किलोमिटरको सीमामा प्रत्येक दुई सय ५० मिटरको दूरीमा पोष्ट बनाएर अरु सुरक्षा निकायको मातहतमा खटाइने मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो ।
उहाँकाअनुसार सीमा क्षेत्रमा सुरक्षाकर्मी अपुग भएको अवस्थामा त्यसलाई परिपूर्ति गर्न स्थानीय तहले भर्ना गर्ने म्यादी प्रहरीले काम कारबाहीमा सहजता हुने र अवैध आवतजावत नियन्त्रणमा मद्धत पुग्ने अपेक्षा गरिएको छ ।
‘भारतले रेल सेवा सुरुगरेसँगै नेपाल आउनेको संख्या सीमा क्षेत्रमा बाक्लो रहेको छ,’ प्रमुख राईले भन्नु भयो , ‘नगरपालिका भित्र कोरोना संक्रमण पुष्टि भएका २४ र ४१ वर्षका दुई पुरुष पनि लुकिछिपी भारतबाटै आएका हुन् ।’
लुकेर भित्रने क्रम बढेको र भारतबाटै आएकामा संक्रमण देखिन थालेपछि नियन्त्रणमा सुरक्षाकर्मीलाई सहयोग गर्न म्यादी भर्ना गरिने उहाँको भनाइ छ ।