Tune to BFM 91.2|Biratnagar

मोरङमा सात जना संक्रमितको मृत्यु

विराटनगर, १० जेठ । मोरङमा कोरोना भाइरस संक्रमित सात जनाको आज बिहान मृत्यु भएको छ । छ जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जनाको मृत्यु भयो । सुन्दरहरैँचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुने सात जना सङ्क्रमितमध्ये चार महिला र तीन पुरुष रहेका छन् ।

विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–४ की ५४ वर्षीया महिलाको बिहान ६ बजेतिर मृत्यु भयो । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार कोरोना पुष्टि भएकी महिलालाई उपचारका लागि वैशाख २२ गते अस्पताल भर्ना गरिएको थियो । त्यस्तै विराटनगर–३ का ८० वर्षीय वृद्धा पुरुषको पनि विराटमै बिहानका राति १ः५० बजेतिर मृत्यु भएको छ । वृद्धलाई उपचारका लागि जेठ ८ गते अस्पताल भर्ना गरिएको जानकारी देवले दिनु भयो । नोबेलमा मोरङको उर्लाबारी नगरपालिका–९ की ५८ वर्षीया महिलाको मृत्यु भएको छ । उपचारका क्रममा बिहान ९ः४० बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो । सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ की ४५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको छ । बिहान ४ बजेतिर मृत्यु भएको दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार महिलालाई उपचारका लागि वैशाख ३१ गते भर्ना गरिएको थियो । धनुषाको मिथिला नगरपालिका–११ घर भई विराटनगर–४ मा बस्दै आएका ७२ वर्षीय वृद्ध पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको दाहालले बताउनु भयो ।

वृद्धको मृत्यु बिहान ४ः१५ बजेतिर भएको हो । वृद्धलाई उपचारका लागि जेठ ३ गते अस्पताल भर्ना गरिएको थियो । कोसी कोभिडमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिनु भयो । उपचारका लागि जेठ ३ गते भर्ना गरिएका संक्रमितको बिहानका राति १२ः२० बजेतिर मृत्यु भएको राजवंशीले बताउनु भयो । सुन्दरहरैँचा नगरपालिका–६ की ६५ वर्षीया वृद्धा महिलाको बिहान ६ः३० बजेतिर होम आइसोलेसनमा मृत्यु भएको छ । परीक्षण गराउँदा जेठ ५ गते कोरोना पुष्टि भएपछि घरमै बसेकी वृद्धाको होम आइसोलेसनमै ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button