Tune to BFM 91.2|Biratnagar

मोरङमा ’हर्न निषेध’ को पालना नगरे कारबाही हुने

विराटनगर, १३ मंसिर । ’हर्न निषेध’को पालना गर्न जिल्ला प्रहरी कार्यालय मोरङले सवारी चालकलाई अनुरोध गरेको छ । नियमको पालना नगरेर कारबाही गर्ने तयारी प्रहरीले थालेको छ । हर्न बजाउने नाममा त्यसको दुरुपयोग गरिएको र हर्नका कारण ध्वनी प्रदूषणसमेत बढेकोभन्दै प्रदेश १ प्रहरी कार्यालयले २०७४ साल असोज १ गतेबाट प्रदेशमा ‘हर्न निषेध’ गरेको थियो ।

साना तथा ठूला सवारी साधनलाई जथाभावी हर्न बजाउन रोक लगाइएको थियो । ट्राफिक प्रहरीले जथाभावी हर्न बजाउने सवारी साधन र चालकलाई कारबाही गर्ने गरेको थियो । तर पछिल्लो समय त्यसको कार्यान्वयन फितलो भएको गुनासो आइरहँदा मोरङ प्रहरीले कडाई थालेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईद्धारा जारी विज्ञप्तिमा निजी, सरकारी तथा सार्वजनिक सवारी साधनले जथाभावी प्रेसर हर्नको प्रयोग गरिरहेकोभन्दै अब उप्रान्त हर्न प्रयोग नगर्न अनुरोध गरिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले दुर्घटना हुनसक्ने खतरा रहेको स्थान, घुम्ती र मोडहरुमाबाहेक अन्य स्थानमा सवारी साधनले हर्न बजाउन नपाउने जानकारी दिनु भयो ।

जथाभावी हर्न बजाउँदा ध्वनी प्रदूषण हुने भएकाले कारबाहीका लागि प्रहरी सक्रियता बढाइएको उहाँको भनाइ छ । एसपी खड्काले नियमको पालना नगर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइने जानकारी दिनु भयो प्रदेशमा पर्ने झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम लागू गरिएको थियो ।

सबै जिल्लाका मुख्य राजमार्ग एवं सहायक राजमार्ग र सवारी साधनको चाप अत्यधिक हुने स्थानलाई लक्षित गरेर ट्राफिक प्रहरीले हर्न निषेधका बोर्डहरुसमेत राखेको छ । एसपी खड्काले ‘हर्न निषेध’का सवालमा पछिल्लो समय विभिन्न जानकारीमुलक कार्यक्रमहरु भइरहेको जनाउनु भयो ।

उहाँले ओभरटेक गर्ने, मान्छे बोलाउने, साइड माग्ने, बाटो काट्नेलगायतका बहानामा हर्न बजाउन नपाइने तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्था र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाउने जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button