Tune to BFM 91.2|Biratnagar

मोरङमा हिरासतका थुनुवालाई कोरोना

विराटनगर, २३ भदौ । मोरङ प्रहरीको हिरासतमा रहेका एक जना थुनुवालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मोरङमा थुनुवामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार जवरजस्ती करणी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएकासुनवर्षी नगरपालिका–४ का २६ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रहरीले पक्राउ गरेर भदौ २० गते शनिबार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरेर पठाएको थियो । कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट हिजोसाँझ प्राप्त भएको जानकारी राईले दिनु भयो ।

उहाँका अनुसार कोरोना देखिएपछि ती थुनुवाको विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरेर प्रहरी निगरानीमा उपचार थालिएको छ । मोरङ प्रहरीको हिरासतमा मंगलबार बिहानसम्ममा २६ जना थुनुवा रहेकोमा अरु २५ जनाको रिपोर्ट नेगेटिभ आएको डीएसपी राईले बताउनु भयो ।

कुनै पनि घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरेर हिरासतमा राख्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदै थुनुवामा कोरोना भए÷नभएको प्रहरीले यकिन गर्ने गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बलात्कारको आरोपमा पक्राउ गरेर अनुसन्धान थालिएका थुनुवामा कोरोना देखिएपछि अरु थुनुवालाई संक्रमण नफैलिओस भनेर हिरासतमा उच्च सर्तकता अपनाइएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button