Tune to BFM 91.2|Biratnagar

मोरङ अदालतबाट भागे लागुऔषधका दुई थुनुवा

विराटनगर, ११ फागुन । खाजा खाने बहाना बनाएर लागुऔषध मुद्धाका दुई थुनुवा जिल्ला अदालत मोरङको क्यान्टिन (खाजा घर) बाट भागेका छन् । मोरङको कटहरी कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी फरार भएको पुष्टि मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गर्नु भएको छ ।

लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका दुवै जना पाँच÷पाँच दिनको म्याद थप भइसकेपछि फरार बनेका हुन् । हिजो दिउँसो ३ः३० बजेतिर म्याद थप गर्न लिएर गएको प्रहरी टोलीको आँखा छल्दै उनीहरु भागेका हुन् । तर सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि मात्रै म्याद थप्न लिएर गएको प्रहरी टोलीले ढिलो गरी साँझ ६ बजेतिर घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय मोरङलाई दिएको थियो । खोजी थालिएको भए पनि फरार भएकाहरु पक्राउ पर्न सकेका छैनन् ।

उनीहरु भारततिर भागेको हुनसक्ने आशंका गरिएको छ । सबैतिर नाका सिल गर्दै विभिन्न प्रहरी कार्यालयलाई जानकारी गराएर भागेका थुनुवाको खोजी तीव्र पारिएको डीएसपी राईले बताउनु भयो । शेख लागुऔषध ब्राउन सुगरसहित कटहरीबाट र अन्य प्रकृतिका लागुऔषधसहित चौधरी विराटनगरको बरगाछीबाट आइतबार पक्राउ परेका हुन् । अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिनु भयो ।

म्याद थप भएपछि उनीहरुले चियानास्ता गर्ने बहाना बनाएका थिए । त्यसपछि अदालत परिषरमै रहेको क्यान्टिनमा प्रहरीले उनीहरुलाई पुर्याएको थियो । खाजा खाइरहेका उनीहरु केही बेरमा हेर्दा त्यहीँबाट फरार भइसकेको पाइएको स्रोतले बतायो । दुई जनामध्ये एक जनालाई खुला छाडिएको थियो भने अर्का थुनुवा हातमा झुन्डिएको हतकडी लिएरै भागेका छन् । थुनुवालाई क्यान्टिनमा खाजा खाने व्यवस्था गरे पनि निगरानी नगर्दा प्रहरीकै लापरबाहीका कारण दुवै जनाले भाग्ने मौका पाएको बताइएको छ ।

गम्भीर प्रकृतिको घटनाका थुनुवा भाग्नुलाई प्रहरीको लापरबाहीका रुपमा लिएर अनुसन्धान थालिएको डीएसपी राईले बताउनु भयो । उहाँका अनुसार म्याद थप गर्नका लागि थुनुवा लिएर जाने र लापरबाही गर्ने केही प्रहरीलाई नियन्त्रणमा लिएर घटनाको सोधपुछ तथा छानबिन थालिएका कारण सबै वास्तविकता पछि सार्वजनिक गरिने छ । राईले सबैतिर नाका सिल गरेर फरार भएकाहरुको खोजी पनि तीव्र पारिए पनि फेला पार्न नसकिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button