Tune to BFM 91.2|Biratnagar

मोरङ कारागारबाट चौकीदारसहित आठ जना कैदीको सरुवा

विराटनगर, ८ मंसिर । कारागार व्यवस्थापन विभागले मोरङ कारागारबाट आज फेरि चौकीदारसहित आठ जना कैदीको सरुवा गरिएको छ ।

उनीहरुलाई सिन्धुली कारागार सरुवा गरिएको हो । मोरङ कारागारका चौकीदार कात्तिक कामत, सिटी नाइके युवराज परियार, वडा नाइके रितेश कामतसहित मौसम चौधरी, विजय कामत, विकास महतो, लोकेन्द्र परियार र देवराज मण्डलसमेतका कैदीको सरुवा गरिएको छ । कात्तिक ज्यान मार्ने उद्योग, युवराज र रितेश कर्तव्य ज्यान, मौसम लागुऔषध, विजय, लोकेन्द्र र देवराज जबरजस्ती करणी तथा विकास हातहतियार खरखजना मुद्दामा दोषी ठहर भएका कैदीहरु हुन् । नेपाली कांग्रेसमा आवद्ध भएर राजनैतिक संरक्षण एवं आवरणमा अपराधिक गतिविधी सञ्चालन गर्दै आएका ‘गुण्डानाइके’ अभिषेक गिरीलाई मोरङ कारागार ल्याउन उनीहरुको सरुवा गरिएको स्रोतले बतायो ।

गिरीलाई मोरङबाटै २०७४ साल चैत २३ गते डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो । मोरङ हुँदा उनी कारागारका चौकीदार थिए । गिरीकै योजना र इशारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा चौकीदार किरण गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए । घटनापछि उनको विपक्षमा रहेका गुरुङसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरेर कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिइएको थियो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले विभागको आवश्यकता अनुसार कैदीको सरुवा गरिएको बताउनु भयो । गिरीका विषयमा भने तत्कालका लागि कुनै पनि निर्णय नभएको र यसअघिको सरुवा पनि कार्यान्वयनमा नआएको उहाँको भनाइ छ । सरुवामा परेकालाई कहिले सिन्धुली लगिन्छभन्ने पनि यकिन भइसकेको छैन । २ सय ५० जना क्षमता भएको मोरङ कारागारमा अहिले ९ सय ५० जनभन्दा बढी कैदीबन्दी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button