Tune to BFM 91.2|Biratnagar

मोरङ कारागार अगाडि आज पनि प्रदर्शन

विराटनगर, ६ मंसिर । जिल्ला कारागार मोरङअगाडि आज पनि प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शन गर्दै चौकीदार कात्तिक कामतविरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनको नेतृत्व कांग्रेस विराटनगरका सहसचिव सचिन पोखरेलले गर्नु भएको छ ।

पोखरेलले कारागारमा भइरहेको बेथितीविरुद्ध आन्दोलन थालिएको बताउनु भयो । तर अपराधिक पृष्ठभूमिका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउनका लागि कांग्रेस कार्यकर्ताहरुले दिनै प्रदर्शन गरिरहेका हुन् । गिरीकै योजनामा कारागार लामो समयदेखि अशान्त बनिरहेको छ । गिरी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका नामुद अपराधी हुन् । काठमाडौंको डिल्ली बजार कारागारबाट ल्याइए पनि अनेक अवरोधका कारण मोरङ कारागारमा प्रवेश नपाएपछि उनकै योजनामा अनेक लफडा भइरहेको हो । गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ ।

उनी समर्थक कांग्रेसका नेताकार्यकर्ताले मोरङ कारागारअगाडि हिजो पनि प्रदर्शन गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले आन्दोलन हुन थालेपछि कारागार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको बताउनु भयो । गुन्डा नाइके गिरीको शुक्रबार कारागार व्यवस्थापन विभागले पुनः मोरङ कारागार सुरुवा गरेको छ । कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले गिरीलाई मोरङ पठाउने निर्णय भएको पत्र आइपुगे पनि उनलाई ल्याउने वातावरण भने नभएको बताउनु भयो । अहिलेको अवस्थामा गिरीलाई मोरङ ल्याउन उपयुक्त नहुने कुरा माथिल्लो निकायमा जानकारी गराइसकेको उहाँको भनाइ छ ।

गिरीले प्रवेश नपाएपछि उनकै योजनामा कात्तिक २४ गते मोरङ कारागारमा झडपसमेत भएको थियो । झडपमा गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भए । घटनापछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button