Tune to BFM 91.2|Biratnagar

मोरङ प्रहरीको नौलो अभियान, अपराधबाट पीडित बनेकासँग प्रत्यक्ष भेटघाट

विराटनगर, २ असोज । मोरङ प्रहरीले अपराधिक घटनाबाट पीडित बनेकाहरुलाई लक्षित गरेर नौलो अभियान सञ्चालन गरेको छ । पछिल्लो समय प्रहरीले पीडितहरुसँग प्रत्यक्ष भेटघाट थालेको छ । ३६ वर्षअघि डाँका समूहको आक्रमणमा पत्नी जीवनदेवीलाई गुमाउनु भएका ८५ वर्षीय धर्मध्वज थापाबाट प्रहरीले भेटघाट सुरु गरेको हो ।

उहाँको घरमा २०४२ साल भदौ १८ गते डाँका समूहले आक्रमण गरेर पत्नीको हत्या गर्दै धनमाल डकैती गरेको थियो । घटनामा संलग्न मोरङ कटहरी गाउँपालिका–७ तकियाका ८७ वर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई गत भदौ ९ गते प्रहरीले पक्राउ गर्यो । खुन डाँका मुद्दा चलाइएका उनीहरु घटनाको ३६ वर्षपछि पक्राउ पर्दा घटनाबाट पीडित बनेका थापाले ठूलो राहत महसुस गरेका छन् । त्यसपछि मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीसहितको टोलीले थापालाई घरमै गएर भेटेको छ ।

घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी कारबाही भएको जानकारी गराउन एसपी जिसीसहितको टोली टोली थापाको घरमा पुगेको हो । पीडित भेट्न प्रहरी प्रमुखसहितको टोली घरमै आउँदा थापा खुसी हुनुभयो । उहाँले लामो समय पछि न्याय पाएको बताउनु भयो । पीडित थापाले भन्नु भयो,‘ प्रहरीको यो अभियानको प्रशंसा समेत गर्छु ।’ थापासँग भेट थाल्दै प्रहरीले पीडितसँगको पुनः भेटघाट कार्यक्रम सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button