Tune to BFM 91.2|Biratnagar

मोरङ प्रहरीलाई विभिन्न संस्थाको सम्मान

विराटनगर, ७ असार । मोरङ प्रहरीलाई विभिन्न तीन दर्जन संघ संस्थाले सम्मान गरेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा अब्बल रहेको भन्दै एसपी विश्व अधिकारीको नेत्रृत्वमा रहेको जिल्ला प्रहरी कार्यालयलाई सम्मान गरिएको हो ।

सरुवा भएर काठमाडौं जान लाग्नु भएका अधिकारीको विदाईका अवसरमा समाज शान्ति स्थापना गर्न प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न संघ संस्थाले सम्मान गरेका हुन् । सामाजिक सचेतना एवं नागरिकसँग सम्बन्ध सुधारका सवालमा पनि प्रहरीले मोरङमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

प्रहरीले वर्ष दिनभरीमा लागुऔषध विरुद्धका तीन सय नौवटा कार्यक्रम सञ्चालन गरेको छ । प्राय हरेक कार्यक्रममा एसपी अधिकारी आफै उपस्थित भएर लागुऔषध विरुद्धको अभियानमा होमिन सबैमा आग्रह गर्नु हुन्थ्यो । त्यस्तै प्रहरीले एक वर्षको अवधिमा जिल्ला भरीबाट २० हजार तीन सय ९५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

त्यस्तै मदिरा बनाउन प्रयोग गर्ने १४ हजार एक सय ५० लिटर कच्चा पदार्थ र पाँच सय ३० बोतल नक्कली रक्सी बरामद गरेको छ । चोरी भएका मध्ये एक सय ८३ वटा मोबाइल, ७५ वटा मोटरसाइकल र १५ वटा साइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी एसपी अधिकारीले दिनु भयो ।

१५ हजार दुई सय ६८ जनामा गरिएको सर्भेक्षणमा प्रहरीको सेवा प्रवाह ५१ प्रतिशतले अत्यन्तै प्रभावकारी, ३८ प्रतिशतले प्रभावकारी र ११ प्रतिशतले सन्तोष जनक रहेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button