मोरङ र झापाका संक्रमित वृद्धको विराटनगरमा मृत्यु
विराटनगर, १७ कात्तिक । मोरङ र झापा घर भएका कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको उपचारका क्रममा विराटनगरका अलगअलग अस्पतालमा मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाभित्र मृत्यु भएकामध्ये एक जना मोरङको विराटनगर र एक जना झापा दमकका हुन् । विराटनगरका वृद्धको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र र झापा दमकका वृद्धको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो ।
विराटनगर महानगरपालिका-३ का ७० वर्षीय वृद्धको कोशी कोभिड अस्पतालमा हिजो मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचार सफल हुन सकेन ।
त्यस्तै नोबेल शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएका झापाको दमक नगरपालिका-२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो ।
गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएका वृद्धको उपचार सम्भव हुन नसकेको दाहालको भनाइ छ ।