Tune to BFM 91.2|Biratnagar

मोरङ र सुनसरीको मस्जिदमा ९१ जना विदेशी

विराटनगर, ७ वैशाख । मोरङ र सुनसरीका विभिन्न मस्जिदमा ९१ जना विदेशी नागरिकहरू भेटिएका छन । जसमध्ये मोरङमा १९ जना र सुनसरीमा ७२ जना रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

मोरङको विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी क्षेत्रमा रहेको मस्जिदमा ३१ जना आश्रय लिएर बसेको पाइएको हो । प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी र १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका छन ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्सी नगरपालिकामा नौ जना पाकिस्तानी, धनपालथान गाउँपालिका ७ को जामे मस्जिदमा १० भारतीय लकडाउन अघिदेखि बसिरहेका हुन् । जहदा गाउँपालिकामा पर्ने सिक्टी क्षेत्रमा भने १२ जना नेपाली बसेका छन् । उदयपुरको मस्जिदमा संक्रमित भेटिएका कारण यो संख्या बढ्न सक्ने प्रहरी अधिकृत बताउँछन् । मस्जिदमा भेटिएका सबै मुस्लिम धर्म गुरुहरू हुन् ।

उनीहरू सबैर्को यापिड टेस्ट गर्दा एन्टिबडी नेगेटिभ देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मस्जिदमा बसेकाहरू प्रहरीको निगरानीमा छन् । धनपालथान गाउँपालिकाले भारतीय नागरिक बसोबास गरिरहेको मस्जिदलाई नै क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष हरिलाल सिंहले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा बस्ने सबैर्को यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, सुनसरीमा भने ७२ जना विदेशी नागरिक भेटिएका छन् । विदेशी नागरिक पाकिस्तान र भारतबाट आएका हुन् । विभिन्न मस्जिदमा भेटिएकाहरूलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले बताउनुभयो ।

प्रहरी स्रोतका अनुसार पछिल्लो समय सम्पर्कमा आएकाहरू सबै सप्तरीमा भएको धार्मिक सभाका लागि आएको बताएका छन । सभाका लागि भित्रिएकाहरू तत्कालै भित्रिने स्थानीय प्रशासनले बताएको थियो ।

तर, उनीहरू भित्रभित्रै लुकेर बसेको स्थानीय प्रशासनले जानकारी समेत पाएन । मस्जिदमा बसेकामध्ये केही मात्र स्थानीय प्रशासनले खोजी गर्दा भेटेका हुन् । मोरङको हकमा भने तीनै स्थानमा बसेकाले लकडाउनमा कडाइ गरेपछि प्रशासनलाई जानकारी गराएका थिए । सुनसरीका डीएसपी शर्मा सर्वसाधारणबाट सहज रुपमा सूचना नै नआएको बताउनुहुन्छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button