Tune to BFM 91.2|Biratnagar

मोरङ र सुनसरीमा थप ८ संक्रमितको मृत्यु

विराटनगर, २० कात्तिक । पछिल्लो २४ घण्टामा मोरङ र सुनसरीमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ७ जनाको उपचारका क्रममा हस्पिटल र एक जनाको होमआईसोलेसनमा मृत्यु भएको हो ।

आज दिउँसो सुनसरी इटहरी–१८ का ५५ वर्षीय पुरुषको दिउँसो ३ः३० बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएकोभन्दै पुरुषलाई उपचारका लागि कात्तिक १७ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभयो । इटहरी–४ का ७१ वर्षीय वृद्ध पुरुषको न्युरो अस्पतालमा दिउँसो ३ः१५ बजेतिर मृत्यु भएको न्युरो अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताउनुभयो ।

विराटनगरको म्याक्स अस्पतालमा मोरङको जहदा गाउँपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको आज बिहान ८ बजेतिर मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा सिरहाको विष्णुपुर–१ का ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको आज बिहान ३ बजेतिर आइसोलेसनमै मृत्यु भएको हो ।

विराटनगर ८ का ७० वर्षीय पुरुषको आफ्नै घरमा मृत्यु भएको छ । महानगर प्रहरीका निरीक्षक राजन पौडेलका अनुसार मुटुको पुरानै समस्या रहेका उनलाई श्वासप्रश्वासमा एक्कासी समस्या देखिएको थियो । त्यसपछि पीसीआर परीक्षणका लागि बुधबार दिउँसो स्वाब संकलन गरिएको र नोबेल शिक्षण अस्पतालको प्रयोगशालाबाट साँझ ६ बजेतिर रिपोर्ट पोजेटिभ आएको पौडेलले बताउनुभयो ।

रिपोर्ट पोजेटिभ आएको तीन घण्टा पनि वित्न नपाउँदै राति ९ बजे वृद्धको आफ्नै घरमा ज्यान गएको जानकारी उहाँले दिनुभयो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा सप्तरीका दुई र मोरङका एकजनाको आज बिहान मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button