Tune to BFM 91.2|Biratnagar

म्याक्स हस्पिटल तनावग्रस्त

विराटनगर, १ फागुन । विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बन्यो । उपचारमा संलग्न चिकिसत्सकलाई कारबाही र राहतको माग गर्दै आफन्तले अस्पताल अगाडि प्रदर्शनसमेत गरेका थिए ।

मोरङको जहदा गाउँपालिका–४ की २५ वर्षीया रन्जना महतोको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि आफन्तहरुले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।

बिरामीका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पताल अगाडि नाराबाजी गरेका थिए । उनीहरूले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुको साथै पीडित परिवारलाई राहत दिनुपर्ने माग राख्दै अस्पताल अगाडि नाराबाजीमा उत्रेका हुन् । आफन्तले नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि अस्पताल अगाडि मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा दिएको थियो ।

गत पुस १६ गते रन्जनाले खाना पकाउने क्रममा शरीरका विभिन्न भाग जलेको थियो । उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशीमा उपचार नहुने भएपछि धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान रेफर गरिदिएको भए पनि एम्बुलेन्स चालकले म्याक्स हस्पिटल लिएर आएको मृतक रञ्जनाकी सासु भगमन्ती देवी महतोले बताउनुभयो । एम्बुलेन्स चालकले आफूहरुलाई झुक्याएर म्याक्स हस्पिटल पुर्याएको उहाँले आरोप लगाउनुभएको छ ।

अस्पतालमा करिब डेढ महिना उपचार गर्दा १२ लाख रुपैयाँ सकिएको उहाँको भनाइ छ । उपचारकै क्रममा रञ्जनाको शनिबार बिहान मृत्यु भएको हस्पिटलका अध्यक्ष सत्रुधन यादवले बताउनुभयो । उहाँले बिरामीको उपचारमा ८ लाख २५ हजार रुपैयाँ खर्च भएको दाबी गर्नुभयो । उहाँले अस्पतालले ६ लाख २५ हजार छुट गरिदिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button