Tune to BFM 91.2|Biratnagar

म्याद गुज्रेको खाद्यवस्तु बेच्नेलाई कारवाही

विराटनगर, २३ वैशाख । लकडाउनको समयमा मोरङको उर्लाबारीमा म्याद गुज्रिएको खाद्यवस्तु बेच्ने व्यापारीलाई २ लाख रुपैयाँ जरिवाना भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गरिएको अनुगमनको क्रममा उर्लाबारीमा म्याद गुज्रेको खाद्यवस्तु विक्री वितरण हुने गरेको पाइएको हो ।

उर्लाबारी ७ स्थित बिना श्रेष्ठले संचालन गरेको दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा विक्री गर्न राखिएको खानेतेल, विस्कुट र पेयपदार्थको म्याद गुजे्रको सामाग्री फेला पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो ।

म्याद गुज्रेको खाद्यसामाग्री विक्री गर्ने पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको उहाँको भनाइ छ । उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम म्याद सकिएको खाद्यवस्तु विक्री गर्ने पसललाई कारवाहीको दायरमा ल्याएको बरालको भनाइ छ ।

यस्तै सुन्दरहरैचा नगरपालिका १ स्थित साह किराना पसल र मितेरी टे«डसमा पनि म्याद सकिएको खाद्यसामाग्री फेला परेको छ । ती सामाग्री अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमन टोलीले उर्लाबारी ६ स्थित अजय किराना पसलले एमआरपी मुल्यभन्दा बढीमा विक्री गरेको पाएको थियो ।

तर, सो पसललाई कुनै कारवाही नगरी छोडेको छ । प्रेमचन्द्र बायतीले संचालन गर्दै आएको किराना पसललमा २० रुपैयाँको आयो नुनलाई २२ रुपैयाँमा विक्री गर्दै आएको अनुगमन टोलीले फेला पारेको थियो ।

आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आएको टोलीले बजार अनुगमन गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले आयो नुनमा एमआरपी मुल्यभन्दा २ रुपैयाँ बढी लिएको पाइएकोले एकपटक सचेत गराएर छोडिएको बताउनुभयो ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङ, नाप तौल तथा गुणनियन्त्रण कार्यालय, उर्लाबारी नगरपालिकाको प्रतिनिधीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button