Tune to BFM 91.2|Biratnagar

यातायातमा दलालीको काम गर्ने दुई जना पक्राउ

विराटनगर, १४ साउन । बैंकको भौचर नक्कली बनाएर यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालयमा दलालीको काम गर्दै आएकामध्ये विराटनगर महानगरपालिका–४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम पक्राउ परेका हुन् ।

नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा ठगी गरेको पाइएपछि उनीहरुविरुद्ध कार्यालयले प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी पर्नासाथ पक्राउ गरेर दुवै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताउनु भयो ।

पक्राउ परेका मध्ये चौधरीले आर्थिक वर्ष २०७६÷०७७ को सवारी साधनको कर तिर्ने क्रममा नक्कली भौचर बनाएर काम गराउँदै ठगी गरेको खुलेको छ । यातायातले बैंकमार्फत आर्थिक कारोबार गर्दै नयाँ सवारी साधन पास र सवारीको कर लिने गरेको छ ।

पास गर्दा र कर तिर्दा लाग्ने शुल्क बैंकमा बुझाएको भौचर सवारी धनीले पेस गरिसकेपछि यातायातले त्यही भौचरका आधारमा कार्य सम्पादन गर्ने गरेको छ । तर कतिपय सवारी धनीले दलालमार्फत यो काम गराउँछन् ।

यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका अधिकृत नवराज गिरीले केही अघि तिरिएको एउटा मिनी ट्रकको करका सवालमा हिसाब नमिलेपछि छानबिन गर्दा दलालले नक्कली भौचर बनाएर रकम ठगी गरिरहेको खुलेको बताउनु भयो ।

दलालले बैंकमा ट्रकको कर भनेर पाँच सय रुपैयाँ दाखिला गर्दै भौचर लिएको र यातायातमा भने त्यसैलाई अगाडि २४ थपेर २४ हजार पाँच सय रुपैयाँ बुझाएको देखिने भौचर पेस गरेको गिरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button