Tune to BFM 91.2|Biratnagar

रंगेली अस्पताल तनावपूर्ण

विराटनगर, ६ फागुन । जन्मने क्रममा नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल तनावग्रस्त बनेको छ । सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको हिजो मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको हो ।

रविनलाई सुत्केरी व्यथाले च्यापेपछि हिजो बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन । चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् । आन्दोलित बनेका आफन्तले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन् ।

अस्पतालमा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनु भयो । रविनाका दाजु प्रल्हाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले वास्ता नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको बताउनु भयो । समस्या समाधानका लागि अस्पताल व्यवस्थापन समितिको बैठक बसेको छ ।

बैठक र छलफलमा बस्न सुत्केरीका आफन्तले भने अस्वीकार गरेका छन् । रविनाका श्रीमान मनु सरदार वैदेशिक रोजगारीका लागि एक वर्षदेखि कतारमा छन् । श्रीमतीको मृत्युको खवर सुनेपछि उनी नेपाल फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Call Now Button